टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब सिराहलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो।
जितसँगै प्रहरीले फाइनल प्रवेशको लागि बिहीबार घरेलु टिम पेमा युवा क्लब विराटनगरसँग खेल्नेछ।
निर्धारित समयसम्म २–२ गोलको बराबारी भएपछि टाइब्रेकरबाट जितेको छिनोफानो भएको हो। जितको लागि टाइब्रेकरमा प्रहरीको तर्फबाट उज्जल राई, सन्देश विक, बिवेक राई र सुमित प्रधानले गोल गरेका थिए।
गोलबजारको तर्फबाट बिनोद राई र निरजल मुक्ताङ्गले मात्र गोल गरे । गौरव श्रेष्ठ र मिन धिमालको प्रहार प्रहरीका गोलकिपर पुरन राईले उत्कृष्ट बचाए । टाइब्रेकरमा दुई गोल सेभ गर्ने प्रहरीका पुरन खेलको प्लेयरअफ म्याच घोषित भए।
अन्तिम क्वाटरफाइनल खेलमा पहिलो हाफमा गोलबजार स्पोर्टिङ क्लब सिराहले अग्रता लिएको थियो। खेल सुरु भएको १२औं मिनेटमा निशान्त लिम्बुले गोल गरी टिमलाई अग्रता दिलाए।
डिबक्सभित्र सन्दिप लिम्बुले निकालिदिएको पासलाई गोलबजारका निशान्तले आकर्षक गोल गरे । दोस्रो हाफदेखि प्रहरीले आक्रमक खेल खेल्दै ४४ औं मिनेटमा रमेश राजवंशीले गोल गरि खेल १–१ गोलको बराबरीमा ल्याए । अभिषेक आलेमगरले निकालेको पासलाई रमेशले गोल गरे । खेल सकिन दुई मिनेट बाँकी रहदा गोलबजारका सिनोद राईले गोल गरी अग्रता दोब्बर बनाए।
तर, गोलबजारले दोस्रो गोल गरेको एक मिनेट बित्न नपाउँदै प्रहरीको तर्फबाट बिवेक राईले गोल गरी खेल २–२ गोलको बराबरीमा ल्याए। खेलको अन्तिममा गोलबजारका खेलाडी समालिन नसक्दा चौथो संस्करणको मिल्स गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो।
बुधबार हुने पहिलो सेमिफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ ) पकली सुनसरी र कनकाई स्पोर्टिङ क्लब सुरुङगा झापाबीच हुनेछ।
वैशाख १५ गते हुने फाइलनमा कोशी प्रदेशका ‘ए’ डिभिजनका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गनेछन्।