प्रहरीलाई हराउँदै पेमा युवा क्लब मिल्स गोल्डकप फाइनलमा

25 Apr, 2024

चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ।

विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो।

जितँसगै पेमा युवा क्लबले शनिबार हुने फाइनलमा उपाधिको लागि सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरी सँग खेल्नेछ।

जितको लागि पेमा युवा क्बलको तर्फबाट मिलन राई, समिर राई र कुलदिप कार्कीले गोल गरे । प्रहरीको तर्फबाट सान्तवना गोल उज्जल राईले फर्काए।

खेलको २९ औं मिनेटमा प्रहरीका उज्जल राईले गोल गर्दै अग्रता दिलाएका थिए । तर, प्रहरीको अग्रता १४ मिनेट पनि टिक्न सकेन। दोस्रो हाफदेखि पेमा युवा क्बलले आक्रमक खेल्दै ४३ औं मिनेटमा डिबक्स भित्रबाट मिलन राईले हेडमार्फत आकर्षक गोल गर्दै खेल बराबारीमा ल्याए।

६१ औं मिनेटमा पेमाका समिर राईले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफपछि सौशव लिम्बुको ठाउँमा मैदान प्रवेश गरेका समिरले मिलन राईले निकालेको क्रस पासलाई गोलमा परिणत गरे।

अग्रता दोब्बर बनाएको चार मिनेट बित्न नपाउँदै पेमाका कुलदिप कार्कीले गोल गर्दै टिमको जित सुनिश्चत गरे । प्रतियोगिताको प्लेयर अफ द म्याच पेमा युवा क्लबका मिलन राई घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय रुपैयाँ र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउनेछन्।