यो सिजनको सिरि एको उपाधि एन्टोनियो कोन्टेको टिम नापोलीले जितेको छ। लिगको अन्तिम खेलमा काग्लीअरीलाई २–०ले हराउँदै नापोलीले सिरि ए जितेको हो।
अन्तिम खेलमा इन्टर मिलान पनि विजयी भयो। तर, नापोलीले उसलाई १ अंकपछि पछि पारेको छ। ३८ खेलमा २४ जित र १० बराबरीसहित नापोलीको ८२ अंक भएको छ भने इन्टर ८१ अंकसहित दोस्रो स्थानमा रह्यो।
यो नापोलीको चौथो सिरि ए उपाधिको हो। यसअघि उसले अन्तिम पटक २०२२–२३मा उपाधि जितेको थियो। यता, प्रशिक्षक कोन्टेको यो चौथो सिरि ए उपाधि हो। यसअघि उनले युभेन्ट्स र इन्टर मिलानबाट यो उपाधि जितेका छन्।
अन्तिम खेलमा नापोलीलाई जित दिलाउन स्कट म्याक्टोमिने र रोमेलु लुकाकुले गोल गरे। म्याक्टोमिनेले ४२ र लुकाकुले ५१औं मिनेटमा गोल गरेका थिए।
