राष्ट्रिय लिगमा प्लानिङ ब्वाइज युनाइटेड र एनआरटीले बराबरी खेलेका छन्। दशरथ रंगशालामा बिहीबार भएको खेलमा प्लानिङ र एनआरटीले १–१को बराबरी खेल्दै अंक बाँडेका हुन्।
प्लानिङका लागि प्रताप सिंहले ४१औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर अग्रथा लामो समय टिकेन । एनआरटीका लागि टिमोथी चिमेरीले पहिलो हाफको इन्जुरी टाइममा बराबरी गोल फर्काए।
दोस्रो हाफमा एनआरटीले गोल गर्ने केही राम्रा अवसरगुमाएको थियो। ओमालाजा करिमले दोस्रो हाफको अन्त्यतिर रातो कार्ड सामना गरेपछि एनआरटीले दस खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।
बराबरीपछि ८ खेलबाट १७ अंक जोडेर प्लानिङ ब्वाइज दोस्रो स्थानमा उक्लेको छ। एपीएफ १९ अंकसहित शीर्ष स्थानमा छ। एनआरटी ८ खेलबाट १५ अंकसहित पाँचौ स्थानमै यथावत छ।
यस्तै, आजै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले नव जनजागृति क्लबमाथि ७–०को फराकिलो जित निकालेको छ। राष्ट्रिय लिगकै फराकिलो जित निकाल्ने क्रममा पुलिसका धिरेन्द्रबहादुर शाह र सञ्जीव लामाले समान २ गोल गरे भने दशरथ गिरी, भरत साह र विजय उराउले पनि गोल गरे।
दोस्रो जितपछि ७ खेलबाट ७ अंक जोडेको पुलिस अंकतालिकामा १०औं स्थानमा उक्लेको छ। नव जन जागृतिको भने यो लगातार सातौं हार हो र अहिलेसम्म अंकविहिन रहेको यो टोली पुछारमा छ।
