दोस्रो संस्करणको नेपाल सुपर लिगमा आज उपाधि भीडन्त हुँदैछ।
शनिबार साँझ ५ः३० बजे दशरथ रंगशालामा हुने उपाधि भीडन्तमा धनगढी एफसी र ललितपुर सिटी एफिसी उत्रनेछन्। धनगढी लगातार दोस्रो पटक फाइनल पुगेको हो भने ललितपुर पहिलो पटक फाइलन पुगेको हो।
शुक्रबार दशरथ रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षकले उपाधिका लागि आफूहरु तयार रहेको बताएका छन्।
धनगढीका प्रशिक्षक युगल किशोर राईले आफ्नो टोली शारीरिक र मानसिक दुवै रुपमा तयार रहको बताए । उनले भने, ‘हामीहरू जितकै लागि खेल्छौं, विपक्षी पनि बलियो छ, फाइलन प्रतिस्पर्धात्मक हुन्छ।’
उपाधि भीडन्त एकदमै टफ हुने बताउँदै उनले खेलाडीहरुले मैदानमा शतप्रशित दिनुपर्ने बताए। फाइनलअघि चार दिनको रेस्ट पाएकाले पनि केही सोच्ने मौका पाएको उनले बताए। उनले गत सिजनमा पनि फाइनलमा पुगेको तर केही गल्तीका कारण उपाधि उचाल्नबाट चुकेको बताउँदै यस पटक त्यसबेलाका गल्तीबाट सिक्दै अगाडि बढ्ने प्रतिक्रिया दिए।
यता, ललितपुरका प्रशिक्षक इयान गिलानले आफूहरु उपाधिका लागि खेल्ने बताउँदै खेल फाइनल प्रतिस्पर्धात्मक हुने बताए।
धनगढी लिग चरणमा दोस्रो हुँदै क्वालिफायर पुगेको थियो। उसले क्वालिफायरम पोखरा थन्डर्सलाई टाइब्रेकरमा हराएको थियो। यता, ललितपुरले फाइलन पुग्ने क्रममा लिगमा तेस्रो बनेको उसले एलिमिनेटरमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सको चुनौति पन्छाएको थियो भने क्वालिफायरमा पोखरालाई नै हराएको थियो।
फाइनल भारतीय रेफ्रीले खेलाउने छन् । अखिल नेपाल फुटबल संघको रेफ्री संघ र रेफ्री कमिटीले फाइनल खेलका लागि भारतीय रेफ्रीको नाम सिफारिस गरेका हुन् ।