भारतले दियो नेपाललाई २९८ रनको विशाल लक्ष्य

2 Feb, 2024

दक्षिण अफ्रिकमा जारी यू–१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा नेपालले विशाल लक्ष्य पाएको छ। जारी खेलमा २ खेलाडीले शतक बनाएपछि भारतले नेपाललाई २९८ रनको विशाल लक्ष्य दिएको हो।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा २९७ रन बनायो। उसका लागि सचिन दास र कप्तान उदय साहरनले शतक बनाए। सचिनले सर्वाधिक ११६ रन बनाए। उनले १०१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान उदयले १०७ बलमा ९ चौका मद्दतमा सय रन बनाए।

६२–३को दबाबपूर्ण अवस्थाबाट उत्कृष्ट साझेदारी गर्दै यी दुई भारतीइ इनिङ सम्हालेका थिए। यी दुई चौथो विकेटका लागि २१५ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यो जारी प्रतियोगिताकै सर्वाधिक ठूलो साझेदारी हो। यस्तै, आदर्श सिंहले २१, अर्सिन कुलकर्णीले १८ र प्रियंशु मोलियाले १९ रन बनाए।

बलिङमा नेपालका लागि गुल्सन झाले ३ विकेट लिए। उनले १० ओभरमा ५६ रन खर्चिए। यस्तै, आकाश चन्दले १ विकेट लिए।

सुपर सिक्सको यो समूहको भारत लगभग सेमिफाइनल पुगिसकेको छ भने नेपाल सुपर सिक्सबाट बाहिरिसकेको छ।