नेपाली महिला फुटबल टिमले आज अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्दै छ। यसअघि दर्जन पटक फाइनल खेलेपनि नेपाली महिला टिमसामू एउटै पनि उपाधि छैन। भनौं महिला टिममा उपाधिको खडेरी परेको छ।
त्यही उपाधिको खडेरी तोड्ने लक्ष्यसहित नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा म्यानमारको सामाना गर्दै छ। खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
घरेलु मैदानमै ४ फाइनल हारेको नेपाल पाँचौं प्रयासमा भने उपाधि जित्ने योजनामा छ। उपाधिको खडेरी तोड्ने हो भने नेपालले मैदानमा निकै महेनत गर्नुपर्ने छ। डिफेन्डस र अट्याकिङमा सुधार गर्नुपर्ने छ।
किनभने म्यानमार बलियो टिम हो। ऊ फिफा वरियतामा नेपालभन्दा ४८ स्थान माथि छ। फिफा वरियातमा म्यानमार ५५औँ र नेपाल १०३औँ स्थानमा छ । त्यसैले उसलाई हराउन सामान्य खेल खेलेर पुग्दैन।
यता, नेपाली टिमका मुख्य प्रशिक्षक र कप्तानले प्रिम्याच कन्फ्रेन्समा यस पटक उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्। दुवैले फाइनलका लागि तयार भएको बताएका छन्।
पाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानारको खेल हेरेर अध्ययन गर्ने मौका पाएको हुनाले सजिलो भएको भन्दै अब फाइनलका लागि आफूहरु तयार रहेको बताए।

‘हामीलाई दुईवटा खेल जितेर फाइनल पुग्नु थियो, त्यसपछि म्यानारको लागि हामीले एउटा छुट्टै खालको संरचना बनाएका थियौं। उनीहरुको खेल हेरेर हामीले अध्ययन गर्ने मौका पायौं उनीहरुको बलियो पक्ष कहाँ छ र कमजोर पक्ष कहाँ छ भनेर त्यसले गर्दा पनि सजिलो भयो । अब फाइनलको तयारी हुदैँछ,’ उनले भने।
यस्तै, नेपालकी कप्तान एन्जिला तुम्बापो सुब्बाले अहिलेसम्म सिल्भरमा नै रहेको भन्दै फाइनल गोल्ड मेडलको लागि खेल्ने बताइन्। जसले बढि फिल्डमा मेहेनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने भन्दै एन्जिलाले फाइनलका लागि तयार रहेको बताइन्।
‘जसलाई खेलाए पनि खेल्न सक्ने खालको खेलाडीहरु हुनुहुन्छ। भोलि फाइनल छ, फाइनलको लागि नै लड्ने हो आजसम्म हामी सिल्भरमा नै छौं। भोलिको खेल गोल्ड मेडलको लागि खेल्ने छौं,’ उनले भनिन्, ‘जसले बढी फिल्डमा मेहेनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने हो हामी फाइनलको लागि तयार नै छौं। हामी आफ्नो तर्फबाट सय प्रतिशत दिने छौं।’
नेपालले अहिलेसम्म म्यानमारलाई हराउन नसकेकाले पनि नेपालमाथि केही दबाब हुनेछ । यसअघि नेपालले समूह चरणकै अन्तिम खेलमा म्यानमारलाई २–२को बराबरीमा रोकेको थियो।
नेपाल र म्यानमारबीच अहिलेसम्म ५ खेल भएको छ। जसमा नेपाल ३ खेलमा पराजित हुँदा २ खेल बराबरीमा सकिएको छ। अहिलेसम्म नेपालले म्यानमारविरुद्ध ५ गोल गर्दा म्यानमारले १२ गोल गरेको छ।