ब्राजिलियन स्टार फुटबलर नेमार जुनियर फेरि घाइते भएका छन्।
ब्राजिलियन सान्टोसका लागि १००औं घरेलु खेल खेल्ने क्रममा उनी बिहीबार राति एट्लेटिको मिनेइरोविरुद्धको खेलमा घाइते भएका हुन्। उनको बायाँ काँधमा चोट लागेको छ।
नेमार पहिलो हाफको ३४औं मिनेटमा मैदान छाड्न बाध्य भएका थिए। सो खेल सान्टोसले २–०ले जितेको थियो। ।
यो उनको पछिल्लो समयको शृङ्खलाबद्ध चोटको अर्को घटना हो, जसले उनको करिअर र फ्यानहरूलाई निराश बनाएको छ।
नेमारले सान्टोसमा जनवरी २०२५ मा फर्किएपछि सात खेलमा तीन गोल र तीन असिस्ट गरेका थिए। तर, यो खेलमा उनले चोटका कारण कुनै योगदान दिन सकेनन्।
सान्टोसले दोस्रो गोल गरे लगत्तै नेमारले आफ्नो बायाँ काँधमा दुखाइ महसुस गरेका थिए। र, बेन्चतिर संकेत गर्दै मैदान छाडेका थिए। उनलाई तत्कालै उपचारका लागि बाहिर लगिएको थियो, र, उनको काँधमा आइस प्याक राखिएको देखियो। उनी रुँदै मैदानबाट बाहिरिएका थिए।
नेमारलाई टिमका साथीहरू र विपक्षी खेलाडी हल्कले सान्त्वना दिएका थिए। सान्टोसका प्रशिक्षक पेड्रो काइक्सिन्हाले नेमारको चोटको अवस्था अहिले नै स्पष्ट भइनसकेको बताए। थप परीक्षणपछि थाहा हुने बताए ।
नेमारको चोटको इतिहास लामो छ। सन् २०२३ मा ब्राजिलको विश्वकप छनोट खेलमा उरुग्वेविरुद्ध उनले बायाँ घुँडाको एसीएल चोट बोकेका थिए, जसले उनलाई एक वर्षभन्दा बढी मैदानबाहिर बसेका थिए। त्यसपछि साउदी क्लब अल हिलालमा रहँदा पनि उनले ह्यामस्ट्रिङ र बायाँ काँधको चोटका कारण लामो समय खेल्न सकेनन्।
सान्टोसमा फर्किएपछि उनले मार्चमा ब्राजिलको विश्वकप छनोटका लागि टिममा स्थान बनाएका थिए, तर बायाँ काँधको समस्याका कारण टिमबाट बाहिरिए। यो चोट पनि सोही ठाउँमा भएको देखिन्छ, जसले उनको रिकभरी प्रक्रियालाई थप जटिल बनाउन सक्छ।
नेमारको यो चोटले उनको युरोप फर्कने चाहनालाई पनि असर पार्न सक्छ। उनी गत जनवरीमा ६ महिनाका लागि मात्र सान्टोस आएका थिए।