प्रशिक्षक कार्लो एन्सोलोटीले आसन्न २ मैत्रीपूर्ण खेलका लागि ब्राजिलियन टिमको घोषणा गरेका छन्। सेनेगल र टुनियसियासँग हुने मैत्रीपूर्ण खेलका लागि एन्सोलोटीले २६ सदस्यीय टिम घोषणा गरेका हुन्।
एन्सोलोटीले घोषणा गरेको टिममा सुपर नेमार जुनियरले भने स्थान बनाउन सकेनन्। उनी भर्खरै चोटमुक्त हुँदै मैदान फर्किएकाले टिममा नपरेका हुन्। यसैसाता भएको फोर्तालेजाविरुद्धको खेलमा उनी ६७औं मिनेटमा मैदान प्रवेश गरेका थिए।
यस्तै, एन्सोलोटीको टिममा भेट्रान मिडफिल्डर फाबिन्हो र युवा स्ट्राइकर भिक्टर रोकीले पुनरागमन गरेका छन्। फाबिन्हो सन् २०२२ पछि पहिलो पटक टिममा परेका हुन्।
यता, सन् २०२३ मै ब्राजिलियन टिममा डेब्यू गरेपनि त्यसयता रोकी टिममा थिएनन्। २० वर्षीय रोकी पाल्मरेसबाट बार्सिलोना गएपछि त्यहाँ खेल्ने अवसर नपाएपछि उनी अहिले पाल्मारेसमै फर्किएका छन्।
ब्राजिलले १५ नोभेम्बरमा सेनेगलसँग लन्डनमा र १८ नोभेम्बरमा फ्रान्समा ट्युनिसियासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
ब्राजिलियन टिम : बेन्टो, इडर्सन, हुगो सुजा (गोलकिपर), एलेक्स सान्ड्रो, डानिलो, किओ हेनरिक, इडर मिलिटाओ, फाब्रिसियो ब्रुनो, ग्याब्रिअल मागलहस, लुसियानो जुबा, मार्किन्होस, पाब्लो हेनरिक, वेस्ली (डिफेन्डर), आन्द्रे सान्तोष, ब्रुना गुइमारेस, कासेमिरो, फाबिन्हो, लुकास पक्वेटा (मिडफिल्डर), विलियन स्टेवाओ, जोआ पेड्रो, लुइस हेनरिक, म्याथिस कुन्हा, रिचार्लिसन, रोड्रिगो, भिनिसियस जुनियर, भिक्टर रोकी (स्ट्राइकर)।
