नेपाल प्रियिमर लिगको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ। साँझ ६ बजे दशरथ रंगशालामा हुने उद्घाटन खेलमा अघिल्ला दुई सिजनका विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भीड्दैछन्।
ललितपुर डिफेन्डिङ च्याम्पियन हो भने काठमाडौं पहिलो च्याम्पियन हो।
दुवै टिम जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा हुनेछन्। ललितपुरको कप्तानी मार्की प्लेअर अनन्त तामाङले गर्नेछन् भने काठमाडौंको कप्तानी कुलिदप कार्कीले गर्नेछन्। उनी मार्की खेलाडी भने होइनन्। काठमाडौंले युवा खेलाडी रोहन कार्कीलाई नयाँ मार्की बनाएको छ।
दुवै टिममा विदेशी प्रशिक्षक छन्। ललितपुरको प्रशिक्षकमा इंग्ल्यान्डका साइमन ग्रेसन छन् भने काठमाडौंले प्रशिक्षकका रुपमा बेल्जियमका प्याट्रिक डि वालइल्डलाई ल्याएको छ।
उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको ललितपुरमा अनन्तसँगै डिफेण्डर सनिश श्रेष्ठ, मणिकुमार लामा, आदित्य शाक्य, सुदिप गुरुङ, दिपेश घले जस्तो घरेलु खेलाडी छन्। यस्तै, टिमले इमोह इजेकेल, जेफ्री बाल्टुस, पापा इबोउ केबे, जोनाथान कान्टिलाना, पापा डिएकेटेलाई अनुबन्ध गरेको छ।
यता काठमाडौंमा कुलदीपसँगै जिलेस्पीजंग कार्की, दिनेश हेन्जन, अभिषेक बराल, दिपेश गुरुङलगायत नेपाली खेलाडी छन्। उसले विदेशी खेलाडीका रुपमा अनुभवी फ्रेन्च मिडफिल्डर भिनसेन्ट कोजिएलो, बुरा टुरे, चिएख गुए, डिफेण्डर बेकरी माने, अलिजोन अलिजोनोभ र अमादोउ डिओपलाई अनुबन्ध गरेको छ।
प्रतियोगिताको उद्घाटन सत्रमा चर्चित गायक दुर्गेश थापाले प्रस्तुति दिने छन्।