ललितपुर प्लेअफ पुग्ने पहिलो जित, बाहिरिने पहिले टिम बन्यो बुटबल

12 Apr, 2025

डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी नेपाल सुपर लिगको तेस्रो संस्करणको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ।

शनिबार साँझ दशरथ रंगशालामा भएको खेलमा बुटबल लुम्बिनी एफसीलाई २–०ले हराउँदै ललितपुरले १ खेल बाँकी छँदै प्लेअफमा स्थान बनाएको हो।

५ खेलमा ललितपुरको ११ अंक भएको छ। अब उ लिगको अन्तिम खेलमा झापा एफसीसँग पराजित भएपनि प्लेअफमा पुग्ने छ। उसको क्वालिफायरमा पुग्ने सम्भावना बलियो छ।

यता, ललितपुरसँगको हारसँगै बुटबल लुम्बिनी एफसी भने प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। ५ खेलमा ४ खेल हारेको उसको १ अंक मात्र छ। अब उसले अन्तिम खेल पोखरा थन्डर्ससँग खेल्ने छ।

शनिबार ललितपुरलाई जित दिलाउन कप्तान अनन्त तामाङ र सन्तोष खत्रीले गोल गरे।

२३औं मिनेटमा अनन्तले ल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाए। उनले मणि लामाको कर्नरमा हेड मार्फत गोल गरेका थिए। त्यसपछि ८८औं मिनेटमा ललितपुरले अग्रता दोब्बर बनायो। इमोह इजेकेलको पासमा सन्तोषले गोल गरेका थिए।