फ्रान्सको प्रतिष्ठित क्लब लियोनलाई लिग २ मा घटुवा नहुने भएको छ।
फ्रान्सेली फुटबलको वित्तीय नियामक निकाय (डिएनसिजी)ले आफ्नो निर्णय उल्टाएपछि लियोन लिग२मा घटुवा नहुने भएको हो।
गत नोभेम्बरमा आर्थिक संकटका कारण डिएनसिजीले लियोनलाई लिग २ मा घटुवा गर्ने र खेलाडी स्थानान्तरणमा प्रतिबन्ध लगाउने निर्णय भएको थियो।
डिएनसिजीको निर्णयविरुद्ध लियोनले अपिल गरेको थियो। बुधबार डिएनसिजीले आफ्नो निर्णय उल्टाउँदै लियोनलाई घटुवा नगर्ने निर्णय गरेको हो। योसँगै लियोनले आगामी सिजन लिग १ र युरोपा लिग खेल्न पाउने भएको थियो।
लियोनलाई लिग २ मा घटुवा गर्ने निर्णयको प्रमुख कारण क्लबको कमजोर आर्थिक अवस्था थियो। विगतका सिजनहरूमा लियोनले ठूलो मात्रामा वित्तीय घाटा बेहोरेको थियो। खेलाडी स्थानान्तरण, सञ्चालन खर्च र अन्य दायित्वहरूका कारण क्लबको वित्तीय स्थिति कमजोर बनेको थियो।
क्लबले लिएको ठूलो परिमाणको ऋण र त्यसको व्यवस्थापनमा देखिएको कठिनाइ देखिएको थियो। त्यसपछि फ्रान्सेली फुटबल लिगका वित्तीय मापदण्डहरू पूरा गर्न नसकेको भन्दै डिएनसिजीले लियोनलाई नयाँ खेलाडी भित्र्याउन र घटुवा गर्ने निर्णय गरेको थियो।
लियोनले निर्णयविरुद्ध अपील गर्दै आफ्नो वित्तीय अवस्था सुधार्नका लागि गरेका प्रयासहरू प्रस्तुत गरेको थियो। उसले क्लबले खर्च कटौती, खेलाडी बिक्री र थप लगानी जुटाउने योजनाहरू पेश गरेको थियो। क्लबको यो प्रस्तावपछि डिएनसिजीले आफ्नो निर्णय परिवर्तन गरेको हो।
सात पटकको लिग च्याम्पियन लियोन ऐतिहासिक र प्रतिष्ठित क्लब हो। लिग २ मा घटुवा हुनु समर्थकहरूका लागि ठूलो झट्का हुने थियो। क्लबले सामाजिक सञ्जालमार्फत आधिकारिक बयान जारी गर्दै डिएनसिजीको निर्णयको स्वागत गरेको छ। उसले आगामी सिजनमा बलियो प्रदर्शन गर्ने प्रतिबद्धता जनाएको छ।
