क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सातौं फिफा विश्वकपमा पुगेको छ। आइतबार राति भएको छनोटको अन्तिम खेलमा अर्मेनियामाथि ९–१को फराकिलो जित निकाल्दै पोर्चुगलले विश्वकपमा स्थान पक्का गरेको छ।
रोनाल्डो विनै मैदान उत्रिएको पोर्चुगलका लागि ब्रुनो फर्नान्डेस र जोआ नेभेसले ह्याट्रिक गर्दा गोन्सालो रामोस, फ्रान्स्किो कोन्सेसाओ र रेटानो भिएगाले पनि गोल गरे। अर्मेनियाका इडुआड स्पेर्टस्यानले गोल गरे। अघिल्लो खेलमा रेडकार्ड पाएकाले रोनाल्डो अर्मेनियाविरुद्ध थिएनन्।
खेलमा पोर्चुगलले पहिलो हाफमा ४ र दोस्रो हाफमा ५ गोल गरेका थिए। युवा मिडफिल्डर नेभेसले ३०, ४१ र ८१औं मिनेटमा गोल गर्दै करिअरको पहिलो ह्याट्रिक गरे भने फर्नान्डेसले इन्जुरी समयको तेस्रो, ५१औं र ७२औं मिनेटमा गोल गर्दै पोर्चुगलका लागि पहिलो ह्याट्रिक गरे।
समूह एफमा १३ अंकसहित शीर्ष स्थानमा रहँदै पोर्चुगल विश्वकपमा पुगेको हो। योसँगै रोनाल्डोले पनि लागतार छैठौं पटक विश्वकप खेल्ने भएका छन्। उनले २००६ यता सबै विश्वकप खेलेका छन्।
यही समूहबाट आयरल्यन्ड विश्वकप छनोटको प्लेअफमा पुगेको छ। अन्तिम खेलमा हंगेरीलाई नाटकीय रुपमा ३–२ले हराउँदै उसले प्लेअफमा स्थान बनाएको छ। खेल २–२को बराबरीमा रहेका बेला इन्जुरीको पनि अन्तिम सेकेन्डमा गोल गोल गर्दै आयरल्यान्ड प्लेअफमा पुगेको हो।
उसका टोरी प्यारोटले ह्याट्रिक गरे। यसअघि अघिल्लो खेलमा पोर्चुगललाई हराउँदा पनि उनले २ गोल गरेका थिए। समूहमा आयरल्यान्डको १० र हंगेरीको ८ अंक भएको छ।
