युईएफए च्याम्पियन्स लिग विजेता फ्रेन्च क्लब पिएसजी अमेरिका जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा ९ खेलाडीमा समेटिएको पिएसजीले बायर्नमाथि २–०ले विजयी भयो।
पिएसजीको जितमा डेसिरे डोयु र उस्मान डेम्बेलेले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफाम सम्भव भएको थियो। पहिलो हाफकै अन्त्यमा बायर्नका जमाल मुसियाला घाइते हुँदै मैदानबा बाहिरिएका थिए।
७८औं मिनेटमा डेयुले डिबक्स बाहिरबाट गोल गर्दै टिमलाई अग्रता दिलाए। लगत्तै पिएसजी १० खेलाडीमा समेटियो । ८२औं मिनेटमा डिफेन्डर विलियन पाचोले लियोन गोर्टेज्कामाथि खराब ट्याकल गरेपछि उनले सिधै रातो कार्ड पाएका थिए।
त्यसपछि इन्जुरी सयममा पिएसजी ९ खेलाडीमा समेटियो। दोस्रो मिनेटमा लुकास हर्नान्डेजले बायर्नका राफाइल गुइरेरोलाई कुइनाले अनुहारमा हानेपछि उनले सिधै रातो कार्ड पाएका थिए।
त्यसपछि बायर्नले पिएसजीमाथि दबाब बनायो। तर, छैठौं मिनेटमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई २–०को जित दिलाए। उनलाई अर्चरफ हाकिमीले ५ डिफेन्डरलाई छलाउँदै डिबक्स भित्र उत्कृष्ट पास दिएका थिए। त्यसमा उनले वान टचमै उत्कृष्ट फिनिसिङ गरे।
त्यो गोलको ठीकअघि काउन्टरमा डेम्बेलेको उत्कृष्ट प्रहार बारमा लागेर फर्किएको थियो। त्यसकै रिबान्ड बलमा पिएसजीले दोस्रो गोल गरेको हो।
