स्पेनिस क्लब रियल मड्रिडले १५औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २–० ले हराउँदै रियल च्याम्पियन बनेको हो।
रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले दोस्रो हाफमा गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा रियलमाथि पूर्णरुपमा दबाब बनाएपनि डर्टमन्डले गोल भने गर्न सकेन। उसले निश्चित तीन गोलको अवसर गुमाएको थियो। उसका करिम एडेइमीले वान टु वानमा गोल गर्न सकेनन् भने फुलक्रुगको प्रहार पोस्टमा लागेको थियो। अर्को एक प्रहार रियलका गोलपिकरले बचाएका थिए।
दोस्रो हाफका सुरुआतमा पनि डर्टमन्डले रियलमाथिको दबाब कायमै राख्यो। तर, दोस्रो हाफको खेल २० मिनेट सकिएपछि भने खेलमा रियल हावी भयो। ७४औं मिनेटमा कार्भाजलले टोनी क्रुसको कर्नरमा हेडिङमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसपछि भिनिसियसले ८३औं मिनेटमा जुड बेलिङ्घमको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।
च्याम्पियन्स लिगमा सधैं फेभरेट टोलीको रुपमा रहने रियलले कीर्तिमानी १५ पटक उपाधि जितेको हो।
यो सँगै प्रशिक्षक कार्लो एन्सोलोटी सर्वाधिक च्याम्पियन लिग उपाधि जित्ने प्रशिक्षक बनेका छन्। उनले ५ च्याम्पियन्स लिग उपाधि जितेका छन्।