प्रिसिजन टुरमा रियल मड्रिड विजयी भएको छ। बुधबार बिहान अमेरिकामा भएको खेलमा रियलले इंग्लिस क्लब चेल्सीमाथि २–१को जित निकाल्यो।
रियलका लागि लुकास भास्क्वेज र ब्राहिम डियाजले गोल गरे भने चेल्सीका नोनी मडुएकेले गोल गरेका थिए। तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो।
खेलमा रियलले १९औं मिनेटमा भास्क्वेजको गोलबाट सुरुआती अग्रता लियो। २७औं मिनेटमा डियाजले रियलको अग्रता दोब्बर बनाए।
३९औं मिनेटमा मडुएकेले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि गोल नहुँदा रियल विजयी भयो।
प्रिसिजनमा रियलको पहिलो जित हो। यससअघि रियल बार्सिलोनासँग २–१ र एसी मिलानसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।
यस्तै, अर्को स्पेनिस क्लब बार्सिलोना पनि प्रिसिजनमा पराजित भएको छ। बुधबार बिहान नै भएको खेलमा बार्सिलोना इटालियन क्लब एसी मिलानसँग पेनाल्टी सुटआउटमा ४–३ले पराजित भयो।
निर्धारित समयको खेल २–२को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा मिलानका केभिन जेरोली, यानिक अदिल, नोह ओकफोर, डाविड कलाब्रियाले गोल गर्दा स्माइल बेनासार र पिएरे कालुलु गोल गर्न असफल भए।
बार्सिलोनाका लािग भिक्टर रोकी, एन्टोनियो कासिनो र मार्क बेर्नलले गोल गर्दा क्वीम जुनएन्ट, जुलेस कुन्डे र मिकाइल फइ गोल गर्न असफल भए।
त्यसअघि निर्धारित समयमा पनि सुरुआती अग्रता मिलानले नै लियो। उसका लािग १०औं मिनेटमा लुका जोभिक र १५औं मिनेटमा क्रिस्टियन पुलुसिचले गोल गरेका थिए। बार्सिलोनाका लागि रोबर्ड लेवान्डोस्कीले २२ र ५८औं मिनेटमा गोल गरेका थिए।
प्रिसिजनमा एसी मिलानले उत्कृष्ट प्रदर्शन गरेको छ। उसले युरोपका तीन ठूला क्लब रियल मड्रिड, म्यान्चेस्टर सिटी र बार्सिलोनालाई हराएको छ। उसले तीनै खेल पेनाल्टीमा जितेको छ।