च्याम्पियन्स लिगमा आर्सनलले ऐतिहासिक जित निकालेको छ। मंगलबा राति भएको च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले रियल मड्रिडमाथि ३–० को शानदार जित निकाल्यो।
एमिरेट्स स्टेडियममा भएको यो खेलमा डेक्लान राइसले दुई शानदार फ्रि–किक गोल गरे भने मिकेल मेरिनोले तेस्रो गोल थपे। यो जित आर्सनलको च्याम्पियन्स लिग इतिहासकै सबैभन्दा ठूलो जितमध्ये एक मानिएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आर्सनलले खेलमा पूर्ण नियन्त्रण कायम गर्यो। ५८औं मिनेटमा राइसले पहिलो फ्रिकिकमा गोल गरे, जुन उनको ३ सयबढी खेलमा पहिलो फ्रिकिक गोल थियो। उनले रियलका गोलकिपर थिबाउट कोर्टुवाको कमजोर वाल सेटअपको फाइदा उठाए।
केही मिनेटपछि उनले फ्रिकिकमै अर्को गोल गरे, जसले आर्सनललाई २–० को अग्रता दिलायो। राइस च्याम्पियन्स लिगको नकआउट चरणमा दुई फ्रिकिक गोल गर्ने पहिलो खेलाडी बने। खेलको ७५औँ मिनेटमा मिकेल मेरिनोले उत्कृष्ट फिनिस गर्दै तेस्रो गोल गरे।
रियलका एडुवार्डो कामाभिङ्गाले दोस्रो हाफको इन्जुरी समयमा दोहोरो पहेंलो कार्ड पाएर मैदान छोडेपछि रियल १० खेलाडीमा सीमित भएको थियो।
आर्सनलले खेलमा ११ सट अन टार्गेट प्रहार गर्यो, जबकि रियलले जम्मा ३ सट मात्र अन टार्गेट राख्न सक्यो। रियलका किलियन एम्बाप्पे र जुद बेलिङ्घमले केही अवसर सिर्जना गरे, तर आर्सनलका गोलकिपर डेभिड रायाले उत्कृष्ट बचाउ गरे। रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले दोस्रो हाफमा टिमको प्रदर्शनलाई लिएर आलोचना खेप्नुपरेको छ।
रियलको कमजोरी
रियलको यो हारले टिमका धेरै कमजोरीलाई उजागर गरेको छ। रियलको रक्षापङ्क्ति यो सिजनभरि नै कमजोर देखिएको छ। चोटका कारण मुख्य डिफेन्डरहरू एडर मिलिटाओ र ड्यानी कार्भाहाल अनुपस्थित छन्, र टिमले अस्थायी रक्षापङ्क्ति प्रयोग गर्नुपरेको छ। आर्सनलले यो कमजोरीको फाइदा उठाउँदै रियलको डिफेन्सलाई बारम्बार समस्यामा पारेको थियो।
रियलको आक्रमणमा पनि एकरूपता देखिएन। एम्बाप्पे र भिनिसियस जुनियरले गति देखाए पनि उनीहरूले आर्सनलको रक्षापङ्क्तिलाई तोड्न सकेनन्। रियलले यो सिजन ला लिगामा पनि औसत प्रदर्शन गरेको छ, र पछिल्लो खेलमा भ्यालेन्सियासँग ९५औँ मिनेटमा गोल खाएर हारेको थियो। रियलको मिडफिल्डमा नियन्त्रण गर्न सकेनन्, र आर्सनलको उच्च प्रेसिङले उनीहरूलाई दबाबमा राख्यो।
सेटपिसमा रियलको डिफेन्स निकै कमजोर देखियो। राइसका दुई फ्रिकिक गोलमा रियलको वाल सेटअप र गोलकिपर कोर्टुवाको स्थिति कमजोर थियो। रियलले सेट(पिसमा बारम्बार कमजोरी देखाउँदै आएको छ, र यो खेलमा पनि त्यही समस्या दोहोरियो।
खेलपछि प्रशिक्षकले के भने?
आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले यो जितलाई टिमको इतिहासमा नयाँ कथा लेख्ने अवसरको रूपमा लिए। ‘यो हाम्रो क्लबको इतिहासमा सबैभन्दा ठूलो रात हो। हामीले हाम्रो आफ्नै कथा बनाउनुपर्छ, र यो जित त्यसको सुरुवात हो। तर हामीले बर्नाबेउमा अझै ठूलो चुनौतीको सामना गर्नुपर्छ,’ उनले भने।
रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले टिमको प्रदर्शनप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, हामीले दोस्रो हाफमा कुनै जवाफ दिन सकेनौँ। यो हाम्रो लागि कठिन रात थियो, तर हामी बर्नाबेउमा फर्कनेछौँ। हामीले अझै हार मानेका छैनौँ।
यो जितले आर्सनललाई सेमिफाइनलको बाटोमा ठूलो अग्रता दिएको छ, तर रियल म्याड्रिडको च्याम्पियन्स लिगमा कमब्याकको इतिहासलाई हेर्दा दोस्रो लेगमा कठिन चुनौती हुने निश्चित छ। आर्सनलले अब अर्को हप्ता बर्नाबेउमा हुने दोस्रो लेगमा यो अग्रता जोगाउनुपर्नेछ।