स्यान्टियागो बर्नाबेउमा यतिबेला नयाँ चर्चा चलेको छ— रियल म्याड्रिडले प्रशिक्षकको रूपमा याेर्गेन क्लोपलाई नियुक्त गर्न सक्छ।
लिभरपुलका पूर्वप्रशिक्षक क्लोप अहिले रेड बुलको ग्लोबल हेड अफ फुटबलको भूमिकामा छन्। यो सिजनको रियलको निराशाजनक प्रदर्शनपछि प्रशिक्षक कार्लो एन्सेलोटीको सम्भावित उत्तराधिकारीका रूपमा उनको चर्चा छ।
रियल आर्सनलसँग ५–१ ले पराजित हुँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ भने ला लिगामा पनि बार्सिलोनाभन्दा चार अंकले पछाडि छ। यस्तो अवस्थामा क्लोपको नाम रियलसँग जोडिएको छ, यो खबर विश्व फुटबल अहिले चर्चाको विषय बनेको छ।
क्लोपले लिभरपुलमा नौ वर्ष बिताए, जहाँ उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप र दुई लिग कप जिते। उनको ‘हेभी मेटल फुटबल’ र उच्च तीव्रताको खेल शैलीले लिभरपुललाई विश्व फुटबलको शीर्षमा पुर्याएको थियो।
तर, २०२४ मा उनले केही समय विश्राम चाहिएको भन्दै लिभरपुल छाडे। रेड बुलमा उनी व्यवस्थापकीयभन्दा सल्लाहकारको भूमिकामा छन्। तर उनी यो भूमिकामा असन्तुष्ट भएको र रियल म्याड्रिड वा ब्राजिलको राष्ट्रिय टिममा प्रशिक्षक बन्ने अवसरमा फर्कन सक्ने रिपोर्टहरू बाहिर आएका छन्।
रियलका प्रशंसकहरूका लागि यो खबर रोमाञ्चक छ, तर चुनौतीपूर्ण पनि। एन्सेलोटीले रियललाई १५औं च्याम्पियन्स लिग र दुई ला लिगा उपाधि जिताएका छन्, तर यो सिजनको असफलताले उनको भविष्य अनिश्चित बनेको छ।
क्लोपको आगमनले रियलको खेल शैलीमा ठूलो परिवर्तन ल्याउन सक्छ। उनको प्रेसिङ र आक्रामक रणनीति रियलका युवा खेलाडीहरू- जस्तै भिनिसियस जुनियर, जूड बेलिङ्घम र किलियन एम्बाप्पेसँग मेल खान सक्छ। तर, रियलको परम्परागत ग्यालेक्टिको संस्कृति र क्लोपको दीर्घकालीन परियोजनामा विश्वास गर्ने शैलीबीच तालमेल मिलाउनु ठूलो चुनौती हुनेछ।
क्लोपले रियलसँग जोडिनु लिभरपुल समर्थकहरूका लागि भने अप्रिय हुन सक्छ, किनभने रियलले दुई च्याम्पियन्स लिग फाइनलमा लिभरपुललाई हराएको छ।
यद्यपि, क्लोपले इङ्लिस क्लबलाई प्रशिक्षण नगर्ने आफ्नो वाचा गरेका छन्। रियलमा क्लोपको सम्भावित नियुक्ति फुटबल इतिहासको नयाँ अध्याय बन्न सक्छ, तर यो सपना वास्तविकतामा बदलिन्छ कि बदलिँदैन, त्यो भविष्यमै थाहा हुनेछ।