ला लिगमा रियल मड्रिड विजयी भएको छ। सान्टियागो बर्नाबेउमा शनिबार राति भएको खेलमा रियलले इस्पानियोलमाथि २–०को जित निकाल्यो।
रियलको जितमा इडर मिलिटाओ र किलियन एम्बाप्पेले गोल गरे। रियलले दुवै हाफमा गोल गरेको थियो।
खेलमा २२औं मिनटमा डिबक्स बाहिरबाट मिलिटाओले उत्कृष्ट गोल गर्दै रियललाई अग्रता दिलाए। पहिलो हाफमा १–०मै सकियो। ४७औं मिनेटमा एम्बाप्पेले पनि डिबक्सबाहिरबाटै गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।
यो सिजन पनि एम्बाप्पे उत्कृष्ट लयमा देखिएका छन्। उनले लालिगाका ५ खेलमा ५ गोल गरेका छन्। समग्रमा उनले ६ खेलमा ७ गोल गरेका छन्। थप गोल नहुँदा रियल २–०ले विजयी भयो।
यही खेलमार्फत जुड बेलिङ्घमले पनि पुनरागमन गरेका छन्। उनी इस्पानियोलविरुद्ध ८९औं मिनेटमा एम्बाप्पेको स्थानमा मैदान प्रवेश गरेका थिए। क्लब विश्वकप लगत्तै काँधको अप्रेशन गरेपछि उनी मैदानबाहिर थिए।
यस्तै, अन्य खेलमा रियल बेटिसले रियल सोसिडाडमाथि ३–१को जित निकाल्दा लेभान्तेले जिरोनालाई ४–०ले हरायो। यस्तै, भिल्लारियलले ओसासुनालाई २–१ले, सेभियाले अलाभेसलाई २–१ले नै हराउँदा भ्यालेन्सियाले एथ्लेटिक क्लबलाई २–०ले हरायो।
