स्पेनीक्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम लिग खेलमा बेनफिकासँग पराजित भएको छ। गएराति भएको खेलमा बेनफिकाले रियल मड्रिडलाई ४–२ गोलअन्तरले पराजित गरेको हो।
बेनफिकाको जितमा आन्द्रेस शेल्डरुपले दुई गोल गर्दा भान्गेलिस पाभ्लिदिस र एनाटोली ट्रबिनले गोल गरे। रियलका लागि किलियन एमबाप्पेले दुई गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन।
खेलको ३०औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। ३६औं मिनेटमा शेल्डरुपले बराबरी गोल फर्काए । इन्जुरी समयमा पाभ्लिदिसले गोल गर्दै बेनफिकालाई पहिलो हाफमा २–१ ले अगाडि राखे।
५४औं मिनेटमा शेल्डरुपले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–१ को अग्रतामा पुर्याए। ५८औं मिनेटमा एमबाप्पेले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे ।
खेलको तनावपूर्ण इन्जुरी समयको आठौं मिनेटमा बेनफिकाका गोलरक्षक ट्रबिनले गोल गर्दै ४–२ को जित पक्का गरे।
इन्जुरी समयको दोस्रो मिनेटमा राउल एसेन्सियो अनि सातौं मिनेटमा रोड्रिगोले रातो कार्ड पाएपछि रियल अन्तिम केही समय ९ खेलाडीमा सीमित भएको थियो।
हारपछि रियल मड्रिड च्याम्पियन्स लिगको शीर्ष ८ मा पर्न नसक्दा सिधै अन्तिम १६ खेल्न पाएन। नवौं स्थानमा झरेको रियलले अब प्लेअफ खेल्नुपर्नेछ ।
यस्तै साविक विजेता फ्रेन्च क्लब पीएसजी र उपविजेता इटालियन क्लब इन्टर मिलान पनि शीर्ष ८ मा पर्न सकेनन्। पीएसजीले गएराति न्युकासलसँग ११ को बराबरी खेल्दा इन्टरले डर्टमन्डमाथि २–० को जित निकाले पनि पर्याप्त हुन सकेन
