फ्रेन्च स्टार स्ट्राइकर किलियन एम्बाप्पे डेब्यू खेलमै गोल गरेपछि स्पेनिस जाइन्ट रियल मड्रिडले उपाधिसहित सिजनको सुरुआत गरेको छ। उसले सिजनको पहिलो उपाधिका रुपमा युएइएफए सुपर कपको उपाधि जितेको हो।
पोल्यान्डको वार्सजावामा भएको खेल च्याम्पियन्स लिग विजेता रियलले युरोपा लिग विजेता इटालिनय क्लब एट्लान्टालाई २–०ले हराउँदै सुपर कप उपाधिको जितेको हो। यो उसको छैठौं सुपर कप उपाधि हो, र ऊ सर्वाधिक सुपर कप जित्ने टिम बनेको छ।
रियललाई जित दिलाउन एम्बाप्पेसँगै फेडेरिको भाल्भर्डेले पनि गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो। पहिलो हाफमा ठिकठाक प्रदर्शन गरेको रियलले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो। एन्टालालाई सुरुआतदेखि नै दबाबमा राखेको रियलले ५९औं मिनेटमा अग्रता लियो।
भिनिसियस जुनियरको उत्कष्ट पासमा गोल लाइन नजिकै अनर्माक रहेका भाल्भर्डेले ट्यापइनमा गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। त्यसपछि रियल खेलमा थप हावी भएको थियो। उसका भिनिसियस, एम्बाप्पे, बेलिङ्घम, रोड्रिगोले निरन्तर आक्रमण गरे। तर, एट्लान्टाको किपरले उत्कृष्ट बचाउ गरेका थिए।
६८औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। उनले जुड बेलिङघमको पासमा गोल गरेका थिए। यसै सिजन पिएसजीबाट फ्रि ट्रान्सफरमा रियलका एम्बाप्पे डेब्यू खेलमै गोल गर्न सफल रहे।
त्यसपछि गोल नहुँदा २–०ले विजयी हुँदै रियल मड्रिडले सिजनको सुखद सुरुआत गरेको छ।