क्रिस्टियानो रोनाल्डो र साडियो माने चम्किएपछि साउदी प्रो लिगमा अल नासरले सानदार जित निकालेको छ। रोनाल्डो र मानेले समान २ गोल गरेपछि अल नासरले डिफेन्डिङ च्याम्पियन अल इत्तिहादमाथि ५–२को सानदार जित निकाल्यो।
खेलमा अग्रता भने करिम बेन्जिमाको कप्तानीमा रहेको इत्तिहादले लियो। उसका अब्देरजाक हमदल्लाहले १४औं मिनेटमा गोल गरेका थिए। तर, त्यसको ५ मिनेटपछि नै अल नासरले बराबरी गोल फर्कायो। प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गरेका थिए।
३८औं मिनेटमा टलिस्काले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। दोस्रो हाफको सुरआतमै हमदल्लाहले इत्तिहादका बराबरी गोल फर्काए। उनले ५१औं मिनेटमा गोल गरेका थिए।
प्रतिस्पर्धात्मक बनिरहेको खेलमा ६६औं मिनेट इत्तिहादका फाबिन्होले रेडकार्ड पाए भने सोही अवसरमा अल नासरले पेनाल्टी पायो। सो अवसरलाई रोनाल्डोले गोलमा परिणत गर्दै टिमलाई पुनः अग्रता दिलाए। यो गोलसँगै रोनाल्डो सन् २०२३मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले ५२ गोल गरेका छन्।
त्यसपछि भने खेल एकपक्षीय बन्यो। त्यसपछि दुई गोल साडियो मानेको नाममा रह्यो। उले ७५औं र ८२औं मिनेटमा गोल गरेका थिए। यी दुवै गोल काउन्टर अट्याकमा सम्भव भएको थियो।
यो जितपछि अल नासरले शीर्ष स्थानको अल हिलालसँगको दुरी ७ अंकमा झारेको छ। १८ खेलमा ५० अंकसहित अल हिलाल शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अल नासरको समान खेलमा ४३ अंक भएको छ। इत्तिहाद भने २८ अंकसहित छैठौं स्थानमा छ।