नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै यस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।
पल्सर स्पोर्ट्स अर्वाडको यो विधाका लागि क्रिकेटका गुल्सन झा, फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमति बिष्ट, र रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका छन् ।
खेल क्षेत्रमा पाएको सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गर्ने गरिन्छ। शुक्रबार पत्रकार सम्मेलनमा प्रीति र गुल्सन भने उपस्थित थिएनन्।
प्रीति एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको प्रतिस्पर्धाका लागि उनको क्लब एपिएफसँग मलेसिया पुगेकी छन्। गुल्सन भने भारतमा नेपाली क्रिकेट टोलीको प्रशिक्षणमा छन्।
पत्रकार सम्मेलनमा पाँच खेलाडीमध्ये तीनले यो अवार्डको मनोनयनमा पर्नु नै गौरवको क्षण रहेको प्रतिक्रिया दिँदै आ–आफ्ना खेल संघ र टिमको साथले यहाँ आइपुगेको धारणा राखे। रग्बी खेलाडीका श्रीरामले १० वर्ष राष्ट्रिय टोलीबाट खेलेपछि यो सफलता पाएको उल्लेख गर्दै मनोनयनमा आफू एक्लै नभइ नेपालको रग्बी खेल परेको धारणा राखे।
पिपल्स च्वाइसको विजेता चयन खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाकोे भोटिङबाट हुनेछ। ५० प्रतिशत मतभार रहने ईसेवाको भोटिङ शुक्रबारदेखि नै सुरु भइसकेको छ।
सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजमा रहेको खेलाडीका फोटोमा लाइक), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेफ सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ।