लिभरपुलको वेस्ट डर्बीमा जन्मिएका ट्रेन्ट अलेक्ज्याण्डर आर्नोल्ड एक यस्ता खेलाडी हुन्, जसले आफ्नो बाल्यकालको सपनालाई वास्तविकतामा बदले।
लिभरपुल एफसीको एकेडेमीमा ६ वर्षको उमेरमा प्रवेश गरेका ट्रेन्टले छोटो समयमै विश्व फुटबलमा आफ्नो छाप छोडे।
उनको रचनात्मक पास, सटीक क्रस, र सेटपीसमा विशेषज्ञताले उनलाई विश्वकै उत्कृष्ट राइट(ब्याकहरूको सूचीमा पुर्याएको छ। तर, उनको प्रभाव केवल आँकडामा सीमित छैन—उनले लिभरपुलको पुनरुत्थान र प्रिमियर लिग २०२४–२५ को उपाधि जितमा निर्णायक भूमिका खेले।
सिजनको अन्त्यसँगे उनले लिभपुल छाड्ने निर्णय गरिसकेका छन्। उनी अब सम्भवतः स्पेनिस जायन्ट रियल मड्रिडमा फ्रि ट्रान्सफरमा आबद्ध हुने छन्।
पछिल्लो दशकमा लिभपुलले प्राप्त गरेको सफलतामा आर्नोल्डको भूमिका मत्वपूर्ण छ। यो फिचर उनको उदय, प्रभाव, र प्रदर्शनको कथा हो।
वेस्ट डर्बीबाट विश्व मञ्चसम्म आर्नोल्डको यात्रा
आर्नोल्डको फुटबल यात्रा लिभरपुलको मेलवुड ट्रेनिङ ग्राउन्ड नजिकैको वेस्ट डर्बीबाट सुरु भयो। ६ वर्षको उमेरमा लिभरपुलको एकेडेमीमा प्रवेश गरेका उनले सुरुमा मिडफिल्डर र स्ट्राइकरको भूमिका खेले, तर प्रशिक्षकहरूले उनको पासिङ र भिजनलाई ध्यानमा राख्दै उनलाई राइट ब्याकमा राखे। यो निर्णय ऐतिहासिक साबित भयो।
सन् २०१६ मा, १८ वर्षको उमेरमा, उनले टोटनह्यामविरुद्ध ईएफएल कपमा आफ्नो सिनियर डेब्यू गरे। उनको प्रदर्शनले तत्कालीन प्रशिक्षक युर्गेन क्लोप को ध्यान खिच्यो, र उनले डिसेम्बर २०१६ मा लिड्स युनाइटेडविरुद्ध पहिलो असिस्ट प्रदान गरे। सन् २०१७ मा, उनले होफेनहाइमविरुद्ध च्याम्पियन्स लिग प्ले अफमा फ्रीकिकमार्फत पहिलो गोल गरे, जसले उनको सेट पीस क्षमतालाई विश्वसामु प्रदर्शन गर्यो।

आर्नोल्डको उदय लिभरपुलको पुनरुत्थानसँगै जोडिएको छ। सन् २०१८ र २०१९ मा लगातार च्याम्पियन्स लिग फाइनलमा खेल्दा उनी सबैभन्दा कम उमेरका खेलाडी थिए। र, सन् २०१९ मा उपाधि जिते। सन् २०१९–२० मा, उनले लिभरपुलको ३० वर्षको प्रिमियर लिग उपाधि खडेरी तोड्न १३ असिस्ट र ४ गोलको योगदान दिए, जसले उनलाई पीएफए यंग प्लेयर अफ द इयर र प्रिमियर लिग यंग प्लेयर अफ द सिजन बनायो।
सन् २०२४–२५ सिजनमा, उनले २४३ प्रिमियर लिग खेलमा १६ गोल र ६२ असिस्टको आँकडा बनाए, जुन कुनै पनि डिफेन्डरको लागि असाधारण हो।
आर्नोल्डको जादु
आर्नोल्डको प्रभाव लिभरपुलको खेल शैलीमा क्रान्तिकारी छ। उनको हाइब्रिड भूमिका (राइट ब्याक र मिडफिल्डरको संयोजन)ले लिभरपुलको आक्रमणलाई नयाँ आयाम दिएको छ। योर्गेन क्लोपको नेतृत्वमा उनको भूमिका इन्भर्टेड फुलब्याकको रूपमा विकसित भयो, जहाँ उनी मिडफिल्डमा आएर खेल निर्माण गर्थे।
उनको लङरेञ्ज पास र व्हिप्ड क्रसले मोहम्मद सलाह र साडियो माने जस्ता खेलाडीहरूलाई गोल गर्ने अवसर प्रदान गर्यो। सन् २०२४–२५ सिजनमा आर्ने स्लटको नेतृत्वमा उनको भूमिका थप संरचित भयो। स्लटले उनलाई परम्परागत राइटब्याकको स्थानमा राखे, तर उनको आक्रामक योगदानमा कुनै कमी आएन। उनले सिजनमा ५,८९० पास (६६.४ प्रतिशत एक्युरेसी)मा २,१०४ फर्वार्ड पास खेले, जुन लिभरपुलमा सर्वाधिक थियो।
आर्नोल्डको प्रभाव आँकडामा मात्र सीमित छैन। उनको सांस्कृतिक महत्व लिभरपुलका समर्थकहरूका लागि ठूलो छ। एक स्थानीय खेलाडीको रूपमा, उनले “थ्यग’िि ल्भखभच ध्बपि ब्यिलभ” को भावनालाई आत्मसात् गरे। उनको जर्सी बिक्री क्लबमा सर्वाधिक मध्ये एक छ, र उनको सामाजिक सञ्जाल उपस्थितिले लिभरपुलको विश्वव्यापी ब्रान्डलाई बलियो बनाएको छ।

प्रशंसा र आलोचनाबीच सन्तुलन
आर्नोल्डको प्रदर्शन सधैं सन्तुलित छैन। उनको रक्षात्मक क्षमतामाथि आलोचना हुने गरेको छ। सन् २०२०–२१ र २०२२–२३ सिजनमा उनलाई विपक्षी विङ्गरहरूले बारम्बार ड्रिबल गरेको देखियो। स्ट्याट्सबमका अनुसार उनलाई प्रिमियर लिगमा औसतमा प्रत्येक तीन खेलमा दुई पटक ड्रिबल गरिन्छ, जुन अन्य राइट ब्याकहरू भन्दा बढी हो। यद्यपि, उनको रक्षात्मक रिकभरीमा उनी शीर्ष २० मा पर्छन्, जसले उनको दक्षता देखाउँछ।
सन् २०२४–२५ सिजनमा आर्नोल्डले आफ्नो प्रदर्शनलाई थप परिष्कृत गरे। उनले लेस्टर सिटीविरुद्ध ७६औं मिनेटमा निर्णायक गोल गरे, जसले लिभरपुललाई उपाधिनजिक पुर्यायो। उनको चोटको चुनौती (मार्चमा पिएसजीविरुद्धको खेलमा टखलाको चोट)ले उनलाई केही समय बाहिर राख्यो । उनको आगमले टिमको मनोबल बढायो। उनको सेटपीस डेलिभरी र लङबल डिस्ट्रीब्युशनले लिभरपुलको आक्रमणलाई सधैं बलियो बनायो। उदाहरणका लागि, टोटनह्यामविरुद्ध ५–१ को जितमा उनको दुई असिस्ट निर्णायक थिए।
राइट ब्याकको क्रान्ति
आर्नोल्डको खेलले आधुनिक फुटबलमा राइट ब्याकको परिभाषा बदलेको छ। उनको ट्याक्टिकल फ्लेक्सिबिलिटीले लिभरपुललाई विभिन्न फर्मेसनमा प्रभावकारी बनाएको छ।
स्लटको ४–२–३–१ मा उनले रक्षात्मक स्थिरता कायम राख्दै आक्रमणमा योगदान दिए। उनको हिट म्याप ले देखाउँछ कि उनले विपक्षी हाफमा ४० प्रतिशत टच लिए, जुन एक डिफेन्डरका लागि असाधारण हो। उनको ‘की पास’ प्रति खेल २ को औसतमा छ, त्यसले उनी रचनात्मक रहेको पनि देखाउँछ। इंग्ल्यान्डका पूर्व खेलाडी एश्ले कोलले उनको प्रसंशा गर्दै भनेका छन्, ‘ट्रेन्टको बल प्रयोग गर्ने क्षमता मैले कुनै फुल(ब्याकमा देखेको छैन।’
आर्नोल्डको प्रभाव स्लटको उच्च प्रेसिङ रणनीतिमा पनि देखिन्छ। उनले विपक्षीको डिफेन्सलाई तोड्न लङ डायगोनल पास प्रयोग गरेका छन्। यसले सलाह र डार्विन नुनेजलाई गोल गर्ने अवसर सिर्जना गरेको छ। उनको फर्वार्ड पास (२,१०४) ले लिभरपुलको आक्रमणलाई गति दियो, विशेषगरी म्यानचेस्टर सिटी र आर्सनलविरुद्धको खेलमा।

अब कता?
लिभरपलमा उनको सम्झौतो सिजनको अन्त्यसँगै सक्दिँदैछ। सम्झौता नवीकरण गर्न अस्वीकार गरेका उनले सोमबार मात्रै सिजन सकिएसँगै लिभरपुल छाड्ने घोषणा गरेका छन्।
अब उनी कता जान्छन्, सबैको चासोको विषय बनेका छन्। लामो समयदेखि उनलाई भित्र्याउन रियल म्याड्रिडले पहल गरिरहेको छ। एन्डफिल्डबाट उदाएका आर्नोल्डको नयाँ गन्तव्य बर्नाबेउ हुने निश्चित जस्तै छ।
आर्नोल्डले लिभिपुर छाड्ने घोषणा गर्दै लिभरपुलप्रतिको आफ्नो माया कहिल्यै कम नहुने बताएका छन् । उनको सम्भावित रियल म्याड्रिड यात्राले उनको खेललाई नयाँ चुनौती दिनेछ, तर लिभरपुलमा उनको विरासत अमर रहनेछ। उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, र क्लब विश्वकप जितिसकेका छन् र उनको महत्वाकांक्षा बालोन डी’ओर जित्ने छ।
०००
आर्नोल्ड लिभरपुलको स्थानीय नायकदेखि विश्व फुटबलको सुपरस्टार बनेका छन्। उनको रचनात्मक पास, सेटपीस विशेषज्ञता, र ट्याक्टिकल बुद्धिमत्ताले लिभरपुलको प्रिमियर लिग २०२४–२५ जितमा ठूलो योगदान दिएको छ। रक्षात्मक आलोचनाहरूका बावजुद उनको समग्र प्रभावले उनलाई आधुनिक फुटबलको एक प्रतीक बनाएको छ।
रियलमा उनको सम्भावित यात्राले नयाँ अध्याय खोल्न सक्छ, तर लिभरपुलका समर्थकहरूका लागि उनी सधैं ‘ट्रेन्ट’ रहनेछन्—एक सामान्य स्काउसर जसले असाधारण कुराहरू हासिल गर्यो। प्रश्न यो हो– के उनले आफ्नो बालोन डी’ओर सपना पूरा गर्न सक्छन्र? समयले मात्र जवाफ दिनेछ।
एजेन्सीहरूकाे सहयाेगमा