नेपाल घरेलु मैदानमा जारी यू–१६ साफ महिला च्याम्पियनसिपको फाइनलमा पुग्न असफल भएको छ। सातदोबाटोस्थित एन्फ कम्प्लेक्स मैदानमा भएको लिगको अन्तिम खेलमा भारतसँग १०–०को फराकिलो अन्तरले पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भएको हो।
नेपालले भारतविरुद्ध पहिलो हाफमा ६ र दोस्रो हाफमा ४ गोल खान पुगेको थियो।
सुरुआतदेखि नै नेपालमाथि दबाब बनाएको भारतले दोस्रो मिनेटमै गोल गरेका थियो। उसका अनिता डुङडुङले गोल गरेकी थिइन्। त्यसपछि १४औं र ४३औं मिनेटमा पर्ल फर्नान्डेज, अनुस्का कुमारीले २२, बोनफिलिअ सुल्लाईले २५ र गुरलिन कौरले ३२ मिनेट गोल गरेपछि भारतले पहिलो हाफमा ६–०को अग्रता लियो।
दोस्रो हाफको सुरुमै मिनमाया श्रेष्ठले आत्मघाती गोल गरेपछि भारतले ७–०को अग्रता बनायो। ५८औं मिनेटमा गुर्नाज कौर, ७७औं मिनेटमा गुरलिन कौर र ७९औं मिनेटमा रिहान्न लिजले गोल गरेपछि भारत १०–०ले विजयी भयो।
नेपाललाई हराएसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ। अब उसले उपाधिका बंगलादेशसँग खेल्ने छ। बंगलादेश लागातार दुई जित निकाल्दै यसअघि नै फाइनल पुगेको थियो। फाइनल आइतबरा हुनेछ।