यू–१७ साफको सेमीमै रोकियो नेपाल, भारतसँग ४–२ले पराजित

28 Sep, 2024

नेपाल भुटानमा जारी यू–१७ साफ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरएको छ। शनिबार दिउँसो चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा भारतसँग ४–२ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

खेलमा भारतले सुरुआतदेखि नै नेपाललाई दबाबमा राखेको थियो। तर, पहिलो हाफमा भने नेपाललाई भारतलाई गोलरहित बराबरीमा रोकको थियो।

६१औं मिनेटमा विशाल यादवले भारतलाई अग्रता दिलाए। उनले नेपाली गोलकिपर पेम्बा नोर्बु भोटोको गल्तीमा गोल गरेका थिए। भारतीय खेलाडीको लामो क्रसमा नोर्वुले सहज बल क्लियर गर्न नसक्दा नजिक रहेका विशालले गोल गरेका थिए।

६८औं मिनेटमा नेपालले पुनः गोलकिपरकै गल्तीमा गोल खायो। लामा फिकिकलाई नोर्बुले क्लियर गर्न नसक्दा पुनः विशाललाई गोल गर्दै भारतको अग्रता दोब्बर बनाए। लगत्तै नेपालले गोलकिपर नोर्बुलाई परिवर्तन गरेको थियो।

८२औं मिनेटमा काउन्टरमा नेपालले गोल फर्कायो। नेपालका लागि सुवास बमले गोल गरेका थिए। ८५औं मिनेटमा ऋषि सिंहले गोल गरेपछि नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको थियो।

९०औं मिनेटमा मोहम्मद कैफले आफ्नै पोस्टमा गोल गरेपछि खेल ३–२को अवस्थामा आयो। तर, इन्जुरी समयको पाचौं मिनेटमा भारतका हिम्नेइचुङ लुन्किमले गोल गरेपछि भारत ४–२ले विजयी हुँदै फाइनलमा पुग्यो।

नेपाली उमेर समूहको टिमले अहिलेुसम्म भारतलाई कुनैपनि प्रतियोगिताको नकआउट हराउन सकेको छैन।

अब भारतले सोमबार हुने फाइलनमा पाकिस्तान र बंगलादेशबीचको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल आजै हुनेछ।