दशरथ रंगशालाको खराब अवस्थापछि यू–२० साफको उद्घाटन खेल एन्फा कम्प्लेक्समा हुने

16 Aug, 2024

नेपाल आयोजना हुन लागेको साफ यू–२० च्याम्पियनपसिप फुटबलको उद्घाटन खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने भएको छ। आइतबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंका भीड्दै छन्।

यसअघि प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियो। तर, दक्षिण एसियाली फुटबल महासंघ (साफ)का म्याच कमिस्नर अब्दुल हामिद अब्दुल गफरले दशरथ रंगशालाको निरिक्षण गरेपछि उद्घाटन खेल एन्फा कम्प्लेक्समा सारिएको हो।

गफरको टिमले मैदान निरीक्षण गरेपछि खेल खेल्न योग्य नभएको निष्कर्ष छ। प्रतियोगिताका अन्य खेलहरू पनि दशरथ रंगशालामा हुने सम्भावना कम भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले म्याच कमिस्नरले दशरथ रंगशाला योग्य नभएको बताएको जानकारी दिए। उकोले यो निर्णय नै अन्तिम नहुने भन्दै म्याच कमिस्नरले साफमा खबर पठाएपछि उताबाट जे निर्णय आउँछ त्यही अन्तिम निर्णय हुने उनले बताए।

रंगशालाको निरीक्षणका लागि माल्दिभ्सका गफर बिहीबार काठमाडौं आएका थिए।

एन्फा प्रवक्ता शाहले प्रतियोगिताको सुरुआती खेल एन्फा कम्लेक्सको मैदानमा हुने भन्दै आगामी दिनमा वर्षा सुधार भए दशरथ रंगशालामा सेमिफाइन र फाइनल खेल गराउने सम्भावना कायमै रहेको बताए।

एएफसी च्यालेन्ज लिगको प्लेअफको चर्च ब्वाइज युनाइटेड र पारो एएफसीबीचको वर्षाकै बीच दशरथ रंगशालामा भएको थियो। सोही कारण मैदान बिग्रिएको छ।

साफ यू–२० च्यापिम्यनसिप भदौ २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा पाकिस्तान बाहेकका साफका ६ राष्ट्रको सहभागिता रहने छ।

प्रतियोगितामा समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलका छन् भने समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन्।