काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिपको समूह एको अन्तिम खेलमा आज नेपाल र बंगलादेश भीड्दै छन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।
यसअघि नै सेमिफाइनल पुगिसकेकाले दुवै टिम दबाबमा भने हुने छैनन्। यो भीडन्तलाई समूह विजेता बन्दै सेमिफाइनल पुग्नका लागि हो।
घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य बनाएको नेपाली टिम बंगलादेशलाई हराउँदै समूह विजेता बन्ने दाउमा छ। बंगलादेशको लक्ष्य पनि त्यही हुनेछ। त्यसैले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई १–०ले हराएको थियो भने बंगलादेशले पनि श्रीलंकालाई नै २–०ले हराएको थियो। त्यसैले समूह विजेता बन्न बंगलादेशलाई बराबरी नै काफी छ भने नेपाललाई जित अवाश्यक छ।
समूह एको विजेताले सेमिफाइनलमा समूह बीको उपविजेतासँग र उपविजेताले समूह बीको विजेतासँग खेल्ने छन्।