एएफसी यू–२३ एसियन कप छनोट सुरु भएको छ। ताजकिस्तानमा जारी प्रतियोतिगामा नेपालले आज घरेलु टोलीसँग पहिलो खेल खेल्दैछ।
खेल ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपाली समयअनुसार साँझ ८ः१५ बजे सुरु हुनेछ।
समूह ‘के’ मा रहेको नेपालले ताजिकिस्तान, फिलिपिन्स र सिरियासँग खेल्नेछ । सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ।
समूहका तीनै टिम नेपालभन्दा बलिया छन्। त्यसैले जित निकाल्न नेपाली टिमले निकै मेहनत गर्नुपर्ने हुन्छ।
मंगलबार भएको प्रिम्याच कन्फ्रेसमा प्रशिक्षक नवीन न्यौपानेले सुरुवातदेखि नै जितकै लागि खेल्ने लक्ष्य रहेको बताएका छन्। उनले नेपाली टिम यहाँ हार्न होइन, जित्न आएको बताउँदै जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्य रहेको बताए।
प्रशिक्षक न्यौपानले जितका साथ सुरुआत गर्ने भनेपनि बलियो ताजकिस्तानलाई उसकै मैदानमा हराउनु नेपालका लागि फलामको चिउरा चपाउनु सरह हुनेछ।
नेपाली टिम आयुष घलानको नेतृत्वमा मैदान उत्रने छ।
