च्याम्पियन्स लिगको नकआउट चरणको प्लेअफको पहिलो लेग अन्तर्गत बुधबार राति भएको खेलमा बायर्न म्युनिक र बेन्फिका विजयी भएका छन्।
बुधबार राति भएको खेलमा बायर्नले स्कटिस क्लब सेल्टिकलाई उसकै मैदानमा २–१ले हरायो। बायर्नलाई जित दिलाउन मिचेल ओलिसे र ह्यारी केनले गोल गरे भने सेल्टिकका डाइजेन माइडाले गोल गरेका थिए।
४५औं मिनेटमा ओलिसेको गोलमा बायर्नले अग्रता लियो। ४९औं मिनेटमा केनले टिमको अग्रता दोब्बर बनाए। ७९औं मिनेटमा माइडाले गोल गर्दै सेल्टिकलाई खेलमा फर्काउने प्रयास गरे। तर, थप गोल नहुँदा बायर्न विजयी भयो।
यस्तै, अर्को खेलमा बेन्फिकाले फ्रेन्च क्लब मोनाको माथि १–०को जित निकाल्यो। उसका लागि ४८औं मिनेटमा भान्गेलिस पाव्लिडिसले निर्णायक गोल गरेका थिए। ५२औं मिनेटमा मोनाको १० खेलाडीमा समेटिएको थियो। उसका मुसरातीले रातो कार्ड पाएका थिए।
यता, दुई इटालियन क्लब एसी मिलान र एट्लान्टा भने पराजित भए। एसी मिलान डच क्लब फेयनूर्डसँग १–०ले पराजित हुँदा एट्लान्टा बेल्जियन क्लब क्लब ब्रुगसँग २–१ले पराजित भयो।