एसी मिलानलाई हराउँदै डर्टमन्ट नकआउटमा, लेइपजिगमाथि सिटीको पुनरागमन जित

29 Nov, 2023

च्याम्यिन्स लिगको ग्रुप अफ डेथमा रहेको जर्मन क्लब बोरुसिया डर्टमन्ड नकआउटमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा खेलमा इटालियन क्लब एसी मिलानलाई ३–१ले हराउँदै डर्टमन्ड नकआउटमा पुगेको हो।

डर्टमन्डलाई १०औं मिनेटमा मार्के रिउसले पेनाल्टीमा गोल गर्दै सुरुआती अग्रता दिलाए। ३७औं मिनेटमा सामुयल चुकुएजेले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।

पहिलो हाफ १–१को बराबरीमा सकियो। तर, दोस्रो हाफमा डर्टमन्डले २ गोल थप्यो। उसका लािग ५९औं मिनेटमा जेमी बोनोइ गिटेन्स र ६९औं मिनेटमा करिम एडेएमीले गोल गरेका थिए।

यही समूहको अर्को खेलमा पिएसजी र न्युकासल युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन्। खेलमा २४औं मिनेटमा अलेजान्डर इसाकको गोलमा न्युकासलले अग्रता लियो। इन्जुरी समयको आठौं मिनेटमा प्राप्त पेनाल्टीमा किलियन एम्बाप्पेले गोल गरेपछि पिएसजीको हार टरेको थियो।

समूह एफमा ५ खेलमा १० अंकसहित डर्टमन्ड शीर्ष स्थानमा छ। र, उसको नकआउटमा स्थान पक्का भइसकेको छ। दोस्रो स्थानमा रहेको पिएसजीको ७ अंक छ भने तेस्रो र चौथो स्थानमा रहेका न्युकासल र पिएसजीको समान ५ अंक छ।

यता, समूह जीको खेलमा यसअघि नै नकआउट पुगिसकेको सिटीले २ गोलले पछि परेको अवस्था उल्टाउँदै आरबी लेइपजिगमाथि ३–२को जित निकाल्यो। सिटीका लागि एर्लिङ हालान्ड, फिल फोडेन र जुलियन अल्भारेजले गोल गरेका थिए। लेइपजिगका दुवै गोल लोइस ओपेन्डाले गरेका थिए।

यो समूहमा सिटीको १५ र लेइपजिगको ९ अंक छ। दुवै टिम नकआउट पुगिसकेका छन्।