सविता राना मगरको २ गोलको मद्दतमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै एन्फा महिला लिगको च्याम्पियन बनेको छ। लिगमा अपराजित रहँदै एपिएफ च्याम्पियन बनेको हो।
२०६८ बाट सुरु भएको लिगले विभिन्न संस्करणमा फम्र्याट परिवर्तन गरेर सञ्चालन भइरहेपनि एपिएफ हरेकपटक च्याम्पियन बन्न सफल भएको छ। एपिएफलाई फेरि च्याम्पियन बनाउन सविताबाहेक सुरु लिम्बु र अनु लामाले समान १ गोल गरेका छन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि एपिएफले दोस्रो हाफमा गोल बर्साउँदै जित निकाल्न सफल भयो। ६४औं मिनेटमा सरू लिम्बुको पासमा सबिता राना मगरले क्लोज रेन्जबाट गोल गर्दै एपिएफलाई पहिलो अग्रता दिइन्।
पहिलो गोल खाएर सम्हालिन नपाउँदै ६९ औं मिनेटमा एपिएफले अग्रता दोब्बर बनाएको थियो। रश्मी कुमारी घिसिङको हेडरको रिबाउन्डमा सुरुले गोल गरेकी थिइन्।
८३औं मिनेटमा प्रीती राईको पासमा सविताले अर्को गोल गरिन्। इन्ज्युरी समयमा अनु लामाले खाली पोष्टमा गोल गर्दै ४–० को जित सुनिश्चित गरेकी थिइन्।
एपिएफले जारी लिगमा तेस्रो पटक पुलिसलाई हराएको हो। एपिएफ यो लिगमा एक खेलमा बराबरीमा रोकिएको थियो भने बाँकी सबै खेल जित्न सफल रह्यो। एपिएफलाई बराबरीमा रोक्ने टिम पुलिस नै थियो, तर फाइनलमा भने एपिएफले सहज जित निकाल्न सफल भयो।
उपाधिसँगै एपिएफले १० लाख र दोस्रो भएको पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।