विभागीय डर्बीमा आर्मीमाथि एपिएफको जित, जित्यो महिला फुटबल उपाधि

23 Mar, 2025

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

भरतपुरको कृष्णपुर खेल मैदानमा शनिबार फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो।

प्रतिस्पर्धात्मक खेलमा एपीएफ र आर्मीले निर्धारित समयमा १–१ गोल गरेको थियो। त्यसपछि खेल टाइब्रेकरमा गएको थियो। एपिएफ टाइब्रेकरमा ४–२ले विजयी भयो।

सुरुआती अग्रता आर्मीले लिएको थियो। खेलको १३ औं मिनेटमा आर्मीकी विमला चौधरीले गोल गरेकी थिइन्। ७५ औं मिनेटमा रश्मिकुमारी घिसिङले आकर्षक हेडर गोल गर्दै एपीएफलाई खेलमा फर्काइन्।

विजेता एपीएफले तीन लाख रुपैयाँसहित ट्रफी उचाल्यो । उपविजेता आर्मीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पायो ।

आर्मीकी चन्द्रा भण्डारीले प्लेयर अफ द टुर्नामेन्ट बन्दै ४० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै, एपीएफकी सावित्री किसन उत्कृष्ट गोलरक्षक, आर्मीकी विमला बिक उत्कृष्ट डिफेन्डर, एपीएफकै रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर, ८ गोल गरेकी एपीएफकी रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता र एपीएफका जीवेश पाण्डे उत्कृष्ट प्रशिक्षक चुनिए ।

उनीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

चितवन जिल्ला फुटबल संघले भरतपुर महानगरको प्रवर्द्धनमा प्रतियोगितामा आयोजना गरेको हो।