विश्वकप छनोटमा आज नेपालले यमनसँग खेल्दै

11 Jun, 2024

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ।

साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ। यमनले आफ्नो होम गेम साउदी अरेबियामा सारेको हो।

विश्वकप छनोटको दोस्रो चरणमा लगातार पराजित नेपाल आज यमनविरुद्धको खेलमा पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्। त्यस्तै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले आफ्नो अन्तिम खेलमा जीत हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रने बताएका छन्।

यही खेलमार्फत कप्तान किरणले सय अन्तर्राष्ट्रिय खेल खेल्ने कोशेढुंगा भेट्टाउँदैछ। किरण भने नेपाली टिमको पार्ट हुन पाएको खुशी छन् ‘म नेपाल नेसनल टिमको पार्ट हुन पाउँदा एकदमै खुशी छु,’ उनले भने ।

किरणले नेपालको जर्सी लगाएर खेल्न पाउनु नै सबैभन्दा प्राउड मोमेन्ट रहेको बताएका छन् । ‘देशको जर्सी लगाउँदा खुशी लाग्छ र देशको जर्सी लगाउनु प्राउड मोमेन्ट हो,’ उनले भने।

स्वास्थ्यले साथ दिएसम्म आफूले नेपालका लागि खेल्ने उनको भनाइ छ। सन् २००८ मा मकाउ विरुद्ध डेब्यु गरेका किरणले डेढ दशकभन्दा बढी नेपालका लागि खेलिसकेका छन् ।

प्रशिक्षक एनेसले किरणको सयौं खेल खेल्न लागेकोमा शुभकामना र बधाई दिएका छन् ।

समूह ‘एच’ मा रहेको नेपालले यसअघि खेलेको पाँचै खेलमा पराजय भोगेको थियो। यही जेठ २५ गते भएको युएई विरुद्धको दोस्रो खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको थियो। नेपालमा नै हुनुपर्ने उक्त खेल दशरथ रंगशालामा समस्या भएपछि नेपालले साउदी अरेबियामा सारेको थियो।

त्यसअघि नेपाल युएईसँग पहिलो खेलमा ४–० र यमनसँग २–० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५–० र दोस्रो खेल ३–० ले पराजित भएको थियो।

नेपाली टोलीमा गोलकिपरसमेत रहेका कप्तान किरणकुमार लिम्बूसहित विशाल सुनार र अभिषेक बराल छन्। त्यस्तै डिफेन्डरमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, सनिश श्रेष्ठ र रोहित चन्द छन्।

त्यस्तै मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशीष राई छन् भने फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिकबाबु चौधरी छन्।