जाबी अलोन्सो रियल म्याड्रिडका नयाँ प्रशिक्षक नियुक्त भएका छन्। सिजनको अन्त्यसँगै कार्लो एन्सोलोटीले रियल छाड्ने औपचारिक घोषणा लगत्तै रियलले आफ्नै पूर्वस्टार अलोन्सोलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो।
४३ वर्षीय अलोन्सोले जुन १ देखि रियलको नेतृत्व सम्हाल्नेछन्, र उनको पहिलो चुनौती आगामी सिजनको तयारी र २०२५–२६ को ला लिगा अभियान हुनेछ।
अहिले उनी जर्मन क्लब बायर लेभरकुसेनको प्रशिक्षक छन्। उनले यसअघि नै सिजनको अन्त्यसँगै लेभरकुसेन छाड्ने बताइसकेका थिए। उनले सन् २०२३ देखि टिमको नेतृत्व गर्दै बन्डेसलिगाको पहिलो उपाधि जिताएका छन्।
उनको रणनीतिमा आधारित आक्रामक र आकर्षक खेल शैलीले उनलाई विश्व फुटबलमा चिनाएको छ।
अलोन्सो रियलको प्रशिक्षक बनेपछि रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजले उनी रियलको परिवारकै एक हिस्सा भएको बताएका छन्। उनको नेतृत्वमा रियलले नयाँ उचाई प्राप्त गर्ने उनले विश्वास व्यक्त गरेका छन्।
अलोन्सोले सन् २००९ देखि २०१४ सम्म रियल म्याड्रिडका लागि खेलाडीको रूपमा २३६ खेल खेलेका छन्, जसमा एक ला लिगा र एक च्याम्पियन्स लिग उपाधि जितेका छन्। उनको यो अनुभवले उनलाई क्लबको भावना बुझ्न सहयोग गर्नेछ।
अलोन्सोले लेभरकुसेनसँगको सम्झौता जुनमा सकिँदैछ, र उनले टिमसँग विदाई खेल खेलिसकेका छन्। उनको रियल आगमनले फ्यानहरूमा ठूलो उत्साह छ, विशेष गरी उनले युवा खेलाडीहरूलाई अवसर दिने र आक्रामक फुटबल खेलाउने शैलीका कारण।
उनको पहिलो लक्ष्य क्लबलाई ला लिगा र च्याम्पियन्स लिग दुवैमा उपाधि जिताउने रहेको बताइएको छ। यद्यपि, उनको नियुक्ति रियलको हालको सिजनको कमजोर प्रदर्शनपछि आएको छ, जसले फ्यानहरूको अपेक्षा अझ बढाएको छ।