राजस्थानलाई हराउँदै हैदरावाद आईपिएलका फाइनलमा, उपाधि भीडन्त कोलकातासँग

25 May, 2024

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा पुगेको छ। शुक्रबार राति चेन्नईमा भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै हैदरावाद फाइलनमा पुगेको हो।

अब चेन्नईमै आइतबार हुने फाइनलमा हैदरावादले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्नेछ।

१७६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो। उसका लागि ध्रुव जुरेलले अर्धशतक बनाए। उनले ३५ बलमा ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५६ रन बनाए।

यस्तै, ओपनर यशश्वी जैसवालले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ४२ रन बनाउँदा अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन्। दोस्रो इनिङमा ड्यु आउने आंकलनसहित बलिङ रोजेको राजस्थान ड्यु नआउँदा दबाबमा आयो

बलिङमा हैदरावादका शहबाज अहमदले तीन र अभिषेक शर्माले २ विकेट लिए। त्यस्तै कप्तान प्याट कमिन्स र टि नटराजनले समान एक विकेट लिए।

एमए चिदम्बरम स्टेडियम पहिले ब्याटिङ गरेको हैदरावादले सुरुआत राम्रो गर्न नसकेपनि ७ विकेट गुमाएर १७५ रन बनाएको थियो। उसका लािग हेनरिच क्लासेनले ३४ बलमा ४ छक्का प्रहार गरी सर्वाधिक ५० रन बनाए।

यस्तै, ओपनर ट्रविस हेडले २८ बलमा ३ चौका र छक्का प्रहार गरी ३४ रन बनाउँदा राहुल त्रिपाठीले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३७ रन बनाए। शहबाज अहमदले १८ बलमा १ छक्का प्रहार गरी १८ रनको योगदान गरे।

बलिङतर्फ राजस्थानका ट्रेन्ट बोल्ट र अवेश खानले समान ३ तथा सन्दीप शर्माले १ विकेट लिए।