कोलकाता बन्यो प्लेअफ पुग्ने पहिलो टिम

12 May, 2024

कोलकाता नाइट राइडर्स यो सिजनको आईपिएलमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ।

शनिबार राति घरेलु मैदान इडेन गार्डेनमा मुम्बई इन्डियन्सलाई १८ रनले हराउँदै कोलकताले २ खेल बाँकी छँदै प्लेअफ स्थान पक्का गरेको हो।

वर्षाले प्रभावित भएपछि १६ ओभरमा झारिएको खेलमा १५८ रनको लक्ष्य पछ्याएको मुम्बईले ८ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो। उसका लागि इशन किसनले २२ बलमा ५ चौका र २ छक्का मद्दतमा सर्वाधिक ४० रन बनाए।

यस्तै, तिलक बर्माले ३२, रोहित शर्माले १९ र नमन धिरले १७ रन बनाए। कोलकाताका हर्षित राना, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले ७ विकेटको क्षतिमा १५७ रन बनायो। उसका लागि वेंकटेश ऐयरले २१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ४२ रन बनाए।

नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे। बलिङमा मुम्बईका मुम्बइका जस्प्रित बुमराह र पियुस चावलाले समान २ विकेट लिए।

यो जितपछि १२ खेलबाट १८ अंक जोडेको कोलकाता शीर्ष स्थानमा रहँदै प्लेअफको यात्रा पक्का गरेछ। उसले क्वालिफायर खेल्ने सम्भावना अधिक छ। यता, यो खेलअघि नै प्रतियोगिताबाट बाहिरिसकेको मुम्बई ८ अंकसहित नवौं स्थानमा छ।