नेदरल्यान्ड्सलाई अराउँदै अस्ट्रिया शीर्ष स्थानमा, फ्रान्स रोकियो

26 Jun, 2024

राल्फा रान्गिकको प्रशिक्षणमा रहेको अस्ट्रिय समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलका नेदरल्यान्ड्समाथि ३–२को जित निकाल्दै अस्ट्रिया समूह विजेता बनेको हो।

प्रतिस्पर्धामक बनेको खेलमा अस्ट्रियाका लागि रोमानो सच्मिड र मार्सल साबिट्जरले गोल गरे भने एक गोल आत्मघाती भएको थियो। नेदरल्यान्ड्सका लागि कोडी गाक्पो र मेम्फिस डिपायले गोल गरे।

खोलको छैठौं मिनेटमै आत्मघाती गोलमा अस्ट्रियाले अग्रता लियो । उसका ग्रिटुइडाको क्रस रोक्ने क्रममा डोनयल माट्सनले आफ्नै पोस्टमा गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।

दोस्रो हाफको सुरुआतमै नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो। जाभी सिमोनको पासमा गाक्पोले ४७औं मिनेटमा गोल गरेका थिए। लगत्तै ५९औं मिनेटमा अस्ट्रियाले खेलमा फेरि अग्रता लियो। उसका सच्मिडले गोल गरेका थिए।

७५औं मिनेटमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो। वेउट वेगहोस्टको पासमा डिपायले गोल गरेका थिए। ८०औं मिनेटमा फेरि अस्ट्रियाले अग्रता लियो । उसका साबिट्जरले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा अस्ट्रिया विजयी भयो।

यही समूहको अर्को खेलमा फ्रान्सले पोल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्। पहिलो हफा गोलरहित बराबरीमा सकिएको खेलमा ५५औं एम्बाप्पेको गोलमा फ्रान्सले अग्रता लियो। उसमान डेम्बेलेलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा एम्बाप्पेले गोल गरेका थिए।

७९औं मिनेटमा मिनेटमा पोल्यान्डले बराबरी गोल फर्कायो। उसका लागि पेनाल्टीमै कप्तान रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा खेल बराबरीमा सकियो।

जितपछि अस्ट्रिया समूह डीमा ६ अंक जोड्दै विजेता बन्यो। यता, फ्रान्स ५ अंकसहित दोस्रो स्थानमा रहँदा ४ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो भयो। अस्ट्रिया र फ्रान्स नकआउटमा पुग्दा नेदरल्यान्ड्सको नकआउट पुग्ने सम्भावना बलियो छ।