अलराउन्डर बसिर अहमदले बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि विभागीय टिम त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको हो।
१६४ रनको लक्ष्य आर्मीले १९।१ ओभरमा ५ विकेट गुमाउँदै भेटायो। आर्मीका लागि बसिरले २८ बलमा ५ चौका र २ छक्कासहित नटआउट ५० रन बनाए । त्यस्तै सन्तोष कार्कीले ३१, तृतराज दासले ३८ र सन्दीप रजालीले १७ रन बनाए।
सुदूरपश्चिमका दीपक बोहराले दुई, हेमन्त धामी र नरेन साउदले एक–एक विकेट लिए।
बैजनाथपुर मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। उसका लागि नारायण जोशीले २२ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रन बनाए।
यस्तै, किरण ठगुन्नाले ३२ बलमा ३ चौका र ३ छक्कासहित ४३ रनको योगदान दिए। बलिङमा आर्मीका बसिर अहमदले ४ ओभर बलिङ गर्दा २३ रन खर्चेर ४ विकेट लिए। नितेश पटेलले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए।