पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेटमा प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब पराजित भएको छ। मंगलबार बिहान पोखरा रंगशालामा भएको खेलमा पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भयो।
पुलिस पराजित हुँदा समूह सीबाट मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। यो समूहमा तीनै टिमले समान १ खेल जिते, जसमा रनरेटमा मधेश अगाडि रह्यो। यता, सुदूरपश्चिमसँगको हारले राष्ट्रिय खेलाडीले भरिएको पुलिस भने समूह चरणमै रोकिएको छ।
पहिला ब्याटिङ गर्दै पुलिसले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले १८.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। उसका लागि किरण ठगुन्नाले अर्धशतकीय योगदान दिए। उलने ३४ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए।
यस्तै, नरेन साउदले ३० बलमा ३९ बनाउँदा राजु रिजालले १९ र नारायण जोशीले ७ बलमा १७ रन बनाए। पुलिका पुलिसका रसिद खानले ३ तथा सुनिल धमला र सागर ढकालले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनायो। पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ६७ रन बनाए। उनले ५१ बलमा समान ५ चौका र छक्का प्रहार गरे।
यस्तै, सुनिल धमलाले ४० बलमा ४२ रन बनाउँदा अर्जुन साउदले १७ २० रन बनाए। सुदूरपश्चिमका विकाश अग्रीले २ तथा बसन्त खत्री र भोजराज भट्टले समान १ विकेट लिए।