काठमाडौं पिंक केयराथन वैशाख पहिलो साता

29 Mar, 2024

वैशाख पहिलो साता काठमाडौं पिंक केयराथन हुने भएको छ।

महिलाको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यसहित म्याराथन लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा आयोजना गर्न लागेको हो। म्याराथन वैशाख ८ गते हुनेछ।

काठमाडौं पिंक केयराथनमा महिलाको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम हुनेछ । यसपालि कार्यक्रममा ३ किलोमिटर, ५ किलोमिटर र १० किलोमिटरको दुरी तय गरिएको छ।

जुनसुकै उमेर समूहका महिलाले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैं घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए।

आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनमा गरेर पिंक केयराथनमा यसपटक २५ सयदेखि ३ हजार महिला सहभागी हुने अपेक्षा गरेको छ।

महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलालाई आफ्नो र परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन्।

काठमाडौं पिंक केयराथनको यस संस्करण भारतका चर्चित टेलिभिजन प्रस्तोता एवं कलाकार जय भानुशालीले सञ्चालन गर्नेछन्। सहभागी हुन चाहने महिलाले ई–सेवाबाट नाम दर्ता गर्नुपर्नेछ।

पिंक केयराथनकी ब्रान्ड एम्बासडर तथा अभिनेतृ नीति शाहले आफू सेलिब्रेटी भएर भन्दा पनि महिलाकै लागि गरिएको इभेन्टका कारण यससँग आबद्ध भएको बताइन्।

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौं पिंकाथन आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी र अन्य सामाजिक–आर्थिक कारणले रोकिएको इभेन्ट यो वर्ष भव्य रूपले पुनरागमन हुने आयोजक संस्थाको दाबी छ।