उपाधि भीडन्तमा गुजरातविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

7 Apr, 2024

भारत जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङको निर्णय गरेका हुन्।

बरोडाविरुद्ध खेलेको टिममा नेपालले ४ परिवर्तन गरेको छ। अघिल्लो खेलमा टिममा रहेका आकाश चन्द, प्रतिश जिसी, ललित राजवंशी र अनिल शाहलाई बेञ्चमा राख्दै नेपालले रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेखलाई टिममा राखेको छ।

सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो। अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो । उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

नेपाली टिम एसिसी प्रिमियर कप र टि–२० विश्वकपको तयारीका लागि भारत गएको हो। नेपाली टिम उतैबाट एसिसी प्रिमियर कपका लागि ओमान जानेछ।