पिएम कपमा लुम्बिनी र मधेशको जित

13 Jan, 2024

आजबाट सुरु भएको प्रधानमन्त्री कप क्रिकेटमा मधेश र लुम्बिनी प्रदेशले पनि सुखद सुरुवात गरेका छन्।

शनिबार भएको प्रतियोगिताकै पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले हराएको थियो। अर्को खेलमा मधेश प्रदेशले अनिलकुमार साहको उत्कृष्ट ब्याटिङको मद्दतमा कोशी प्रदेशलाई ७ विकेटले हराएको छ।

ब्याटिङको निम्तो पाएको कोशीले ४१ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाउन सक्यो । खाता नखोल्दै विकेट गुमाएको उसका कप्तान अंकित सुवेदीले टिकेर खेल्ने प्रयास गरे । ४० रन बनाएका उनी १९ औं ओभरमा चौथो विकेटका रुपमा आउट भए, त्यतिबेला टिमको स्कोर ५६ रन थियो ।

उनको स्थानमा आएका फिर्दोसले पनि त्यसरी नै खेले, तर अरु ब्याट्सम्यानले साथ दिएनन् । ४१ औं ओभरको अन्तिम बलमा अन्तिम ब्याट्सम्यानका रुपमा आएका उनले ४१ रन बनाए । कोशीका अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोशीलाई सस्तैमा समेट्ने क्रममा प्रदीप पासवानले ३ विकेट लिए भने राजेश यादव, रञ्जित कुमार र पवन सरार्फले २–२ विकेट लिए भने विशाल पटेलको नाममा एक विकेट रह्यो ।

१२८ रनको लक्ष्य पछ्याएको मधेशले निकै राम्रो सुरुवात गर्‍यो हरिशंकर साह र अनिलकुमार साहले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरे । साह २४ रनमा आउट भए । अनिलसँग २० रनको साझेदारी गरेका मयान यादव १ रनमै आउट भए भने तेस्रो विकेटका रुपमा अनिल १८ औं ओभरको तेस्रो बलमा ८८ रनमा आउट भए ।

कोशीका सोनु मण्डलले २ विकेट लिए भने सुजन थपलियाले एक विकेट आफ्नो नाममा लेखाए ।

रुपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा लुम्बिनीले अजय चौहानको उत्कृष्ट बलिङको मद्दतमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले ३४।४ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । उसका लागि करण पंगेनीले सर्वाधिक २८ रन बनाए ।

गण्डकीलाई कम रनमै सीमित गर्ने क्रममा अजय चौहानले ५ विकेट लिए । ८।४ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै जम्मा १६ रन खर्चिएका थिए । एमडी हसनले २ विकेट लिए भने कृष्ण कार्की, अनिशेष गौतम र नर सार्कीको नाममा समान १–१ विकेट रह्यो ।

११२ रनको लक्ष्य लुम्बिनीलाई पनि सहज भने भएन । २८।२ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।

उसका लागि ओपनर मृनाल गरुङले ४७ रनको निर्णायक पारी खेले । पहिलो विकेटका लागि विराट भण्डारीसँग ३३ रनको साझेदारी गरेका उनले दोस्रो विकेटका लागि एमडी हसनसँग ३६ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।

गण्डकीको विपिन खत्री र कमल परियारले समान ३–३ विकेट लिए ।