कोशी प्रदेश काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटको प्लेअफमा पुगेको छ। रुविना क्षेत्री र काजल श्रेष्ठको उत्कृष्ट ब्याटिङ मद्दतमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै कोशी प्लेअफमा पुगेको हो।
बिहीबार सुदूरपश्चिमले दिएको ११९ रनको लक्ष्य कोशीले २ विकेटको क्षतिमा १७.४ ओभरमै पूरा गर्यो। कोशीका लागि ओपनरद्वय काजल श्रेष्ठ र रुबिना क्षेत्रीले अर्धशतक प्रहार गरे। कप्तान रुबिनाले नटआउट ५१ रन र काजलले ५४ रन जोडे।
त्यसअघि टस जितेको कोशीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरले २० ओभरमा ३ विकेटको क्षतिमा ११८ रन जोड्यो।
उसका लागि ओपनर विन्दू रावलले ३३ रन, सम्झना खड्काले २७ रन, कविता जोशीले नटआउट २६ रन र रेवती धामीले नटआउट २० रन जोडे।
१० अंकसहित कोशी दोस्रो स्थानमा छ भने पराजित भएको सुदुरपश्चिम ८ अंकसहित तेस्रो स्थानमा छ।