संसदीय चुनाव लड्ने तयारीमा शकिब

27 Nov, 2023

बंगलादेश क्रिकेट टिमका कप्तान शकिल अल हसनले अब नयाँ इनिङ्स सुरु गर्ने भएका छन्। उनले राजनीति मार्फत् नयाँ इनिङको सुरुआत गर्ने तयारी गरेका छन्।

सन् २०२४ को जनवरीमा हुने संसदीय निर्वाचनमा उनी आफ्नो गृहजिल्लाको सिटमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगबाट चुनावमा उठ्ने भएका छन्।

पार्टीले उनलाई ‘मगुरा–१’ संसदीय क्षेत्रबाट चुनाबमा उम्मेदवार बनाउने निर्णय लिएको छ। यसका लागि साकिबले तयारी सुरु गरिसकेको पनि जनाइएको छ।

बंगलादेशले नोभेम्बर २८ देखि डिसेम्बर १० सम्म न्यूजिल्याण्डसँग दुई खेलको टेष्ट सिरिज खेल्दैछ। यो टेस्ट सिरिज बंगलादेशमै खेलिनेछ। यसपछि बंगलाको टोली सिधै न्युजिल्याण्ड भ्रमणका लागि प्रस्थान गर्नेछ। उसले तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखला खेल्ने छन्। यो भ्रमण ३१ डिसेम्बरमा समाप्त हुनेछ। तर, शाकिबले यी खेलमा सहभागी हुने या नहुने स्पष्ट भइसकेको छैन।

६ नोभेम्बरमा श्रीलंकाविरुद्धको विश्वकप खेलमा शकिबको औंला भाँचिएको थियो। उनको चोट अझै निको भइसकेको छैन। यस्तो अवस्थामा उनी कहिले मैदानमा फर्कनेछन् भन्ने टुंगो पनि लागेको छैन।

राजनीतिमा प्रवेश गरेर चुनाव जिते भने शाकिब क्रिकेट खेल्छन् की खेल्दैनन् त्यो पनि पछि मात्रै थाहा हुनेछ ।

यसअघि बंगलादेशमा पनि मशरफे मुर्तजाले सक्रिय क्रिकेटरका रूपमा चुनाव लडेका थिए र उनी सांसद बनेपछि पनि खेल्दै आएका थिए।

शकिबले राजनीतिसँगै क्रिकेटलाई पनि निरन्तरता दिन सक्ने सम्भावना छ । तर, शाकिबले विश्वकपअघि नै न्यूजिल्याण्ड भ्रमणपछि एकदिवसीय टोलीको कप्तानी छाड्ने बताएका थिए।