एकदिवसीय क्रिकेटमा विराट कोहलले कीर्तिमानी शतक प्रहार गरेपछि भारत एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेक छ। बुधबार राति भएको खेलमा कोहलीले ब्याट र मोहम्मद सामीको बलिङ चलेपछि भारतले न्युजिल्यान्डमाथि ७० रनको जित निकाल्दै भारत उपाधि नजिक पुगेको हो।
जितका लागि ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३२७ रनमै अलआउट भयो।
भारत सन् २०११ यता पहिलो पटक विश्वकपको फाइनल पुगेको हो। समग्रमा भारत विश्वकपको फाइनल पुगेको भने यो चौथो पल्ट हो। अब उपाधिका भिडन्तमा भारतले दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ।
न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले ११९ बलमा १३४ रन बनाए । उनले नौ चौका र सात छक्का प्रहार गरे। मिचेल र कप्तान केन विलियमन क्रिजमा रहँदा भारत दबाबमा देखिएको थियो ।
विलियम्सन सामीको बलमा ६९ रन बनाएर आउट भए । विलियसनले मिचेलसँग मिलेर दोस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरे। विलियमसनले आठ चौका र एक छक्का प्रहार गरे । ग्लेन फिलिप्सले पनि ४१ रनको योगदान दिए।
सेमिफाइनलमा भारतको जितको नायक फेरि एकपल्ट मोहम्मद सामी रहे । उनले ९.५ ओभरमा ५७ रन खर्चेर सात विकेट लिए ।
टस जितेर पहिले ब्याटिङको निर्णय गरेको भारतले चार विकेट गुमाएर ३९७ रनको स्कोर खडा गरेको थियो । यसमा दुई शतकीय प्रदर्शन सामेल थियो । सबैभन्दा पहिले कोहलीले शतक बनाए । उनले ११३ बलमा ११७ रन बनाए । यस क्रममा उनले वानडे त्रिकेटको आफ्नो ५०औं शतक पूरा गरे ।
उनी वान डे क्रिकेटको इतिहासमा ५० शतक बनाउने पहिलो ब्याटर बने । उनले यसक्रममा सचिन तेन्दुलकरको नाममा रहेको ४९ वान डे शतकको कीर्तिमानलाई उछिने । कोहलीपछि श्रेयस अय्यरले ७० बलमा शानदार १ सय ५ रन बनाए । उनले चार चौका र आठ छक्का प्रहार गरे । कप्तान रोहित शर्माले पनि २९ बलमा आक्रामक ४७ रन बनाए।
रिटायर्ड हर्ट भएर फेरि खेल्न आएका ओपनर शुभमन गिलले ६६ बलमा ८० रन बनाए र नटआउट रहे । न्युजिल्यान्डका बलरमध्ये टिम साउथीले तीन विकेट लिए, तर यसका लागि उनी महँगो सावित भए र सय रन खर्चे ।
भारतले यस जितपछि न्युजिल्यान्डमाथि बदला पनि रचेको छ । न्युजिल्यान्डले पछिल्लो विश्वकपको म्यानचेस्टरमा भएको सेमिफाइनलमा भारतलाई नै हराएको थियो ।