भारतसामु उपाधि खडेरी तोड्ने अवसर

18 Nov, 2023

रोहित शर्माको अपराजित टोली भारतले आइतबार एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पाँचपल्टको च्याम्पियन अस्ट्रेलियाको सामना गर्नेछ । यसक्रममा भारतको एउटै लक्ष्य हुनेछ, १० वर्षे उपाधि खडेरी तोड्ने । यसका साक्षी हुनेछन् १ लाख ३० हजार दर्शक ।

तेस्रो विश्वकप उपाधि जित्ने अवसरमा रहेको भारतले यसपल्टको प्रतियोगितामा भने लगातार १० खेल जितेको छ । सन् १९८३ मा भारतले पहिलो पटक विश्वकप क्रिकेट जितेको थियो । सन् २०११ मा पछिल्लो पटक जित्दा त्यो उपलब्धि आफ्नै भूमिमा प्राप्त भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय टोलीको जस्तै दबदबा रहे पनि देशले सन् २०१३ यता कुनै उपाधि जित्न सकेको छैन । त्यो वर्ष भारतले जितेको भनेको च्याम्पियन्स ट्रफी थियो । अहिले भने एक अर्ब ४० करोड जनसंख्या भएको देशलाई क्रिकेटको ज्वरोले समातेको छ । टोलीसामु फाइनलमा त्यस्तो प्रतिद्वन्द्वी छ, जसले आठौंपल्ट विश्वकप फाइनल खेल्दै छ ।

अहिले पनि लयमा फर्कने क्रममा अस्ट्रेलियाले पछिल्लो ८ खेल लगातार जितेको छ । सन् १९८३ मा विश्वकप जित्ने भारतीय टोलीका सदस्य सुनील गावस्करले भनेका छन्, ‘यो फाइनल अविश्वसनीय रहनेछ । भारतले पाँचपल्टको विश्वकप च्याम्पियनविरुद्ध खेल्दै छ । अस्ट्रेलिया निकै खराब स्थितिबाट उम्केर फाइनल पुगेको छ । यो त्यही टिम हो, जसलाई फाइनल कसरी खेल्ने थाहा छ अनि फाइनल कसरी जित्ने त्यो पनि थाहा छ ।’

उनी थप्छन्, ‘त्यसैले मलाई लाग्छ, भारतीय टिमसामु वास्तवमै कठिन चुनौती रहनेछ । तर, मलाई के लाग्छ भने यो चुनौती सामना गर्न रोहित शर्माको टिम तयार छ ।’ अस्ट्रेलिया पाँचपल्टको विश्व च्याम्पियनमात्र होइन, टोलीले सन् २०२१ मा ट्वान्टी–२० विश्वकप पनि जितेको छ । गत वर्ष वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा अस्ट्रेलियाले उपाधिका लागि हराएको भनेको भारतलाई नै हो । त्यो पनि निकै सजिलो तरिकाले ।

चार साताअघि यसपल्टको विश्वकपमा भारतले लिग चरणको खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । त्यतिबेला चेन्नईमा प्याट कमिन्सको टिम १ सय ९९ रनमै अलआउट भएको थियो । लगत्तै लखनउमा अस्ट्रेलिया दक्षिण अफ्रिकाको हातबाट १ सय ३४ रनले पराजित रह्यो । तर, टोलीले त्यसको बदला लिनेक्रममा कोलकातामा भएको सेमिफाइनलमा ‘प्रोटियस’ माथि ३ विकेटको रोमाञ्चक जित निकालिसकेको छ ।

अर्को सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई मुम्बईमा ७० रनले हराएको थियो । त्यही खेलमा विराट कोहलीले कीर्तिमान ५० औं एकदिवसीय शतक पनि पूरा गरेका थिए । यसक्रममा उनले सचिन तेन्दुलकरको नामको ४९ शतकको प्रदर्शन उछिनेका थिए । अहिले उनी प्रतियोगितामै सर्वाधिक रन बनाउने खेलाडी सूचीको शीर्षमा छन् । उनले ७ सय ११ रन बनाइसकेका छन् । कोहली पछाडि भारतीय ब्याटरमध्ये रोहितले ५ सय ५० रन बनाएका छन् ।

अहिले रोहितको कप्तानीको प्रशंसा भइरहेको छ । इंग्ल्यान्डका पूर्व कप्तान नासिर हुसेन रोहितलाई लिएर भन्छन्, ‘यी असली नायक हुन् ।’ भारतसँग यस विश्वकपकै सफल बलर पनि छ, मोहम्मद सामीका रूपमा । उनले ६ खेलमा २३ विकेट लिएका छन् । न्युजिल्यान्डविरुद्धको अन्तिम खेलमा उनले ५७ रनमा ७ विकेट लिएका थिए । भारत र दक्षिण अफ्रिकाविरुद्धका सुरुआती दुई खेल गुमाएर लड्खडाएको अस्ट्रेलिया अहिले पूर्णतः आफ्नो वास्तविक स्वरुपमा फर्केको छ ।

त्यसपछि अस्ट्रेलियाले लिग चरणका सात खेलमात्र लगातार जितेन, केही उत्कृष्ट प्रदर्शनको इतिहास पनि बनाएको छ । जस्तो कि ग्लेन म्याक्सवेलले अफगानिस्तानविरुद्ध ऐतिहासिक २ सय १ रन नटआउट इनिङ्स खेले । त्यसअघि अस्ट्रेलिया ९१ रनमा ७ विकेट गुमाएर दयनीय स्थितिमा थियो । म्याक्सवेलले दोहोरो शतक बनाउने क्रममा अस्ट्रेलियाले २ सय ९२ रनको लक्ष्य पनि पार गरेको थियो । लेग स्पिनर एडम जाम्पा २२ विकेटसहित अस्ट्रेलियाली बलरमध्ये शीर्षमा छन् ।

मिचेल स्टार्क र जोस हेजलउडले पनि राम्रै गरिरहेका छन् । उनीहरू दुवैले सन् २०१५ को विश्वकप फाइनल पनि खेलेका थिए । अहिले ठीक समयमा आफ्नो लय समातेका छन् । उनीहरूले दक्षिण अफ्रिकालाई सेमिफाइनलमा १२ ओभरभित्र चार विकेट क्षतिमा २४ रनमै खुम्च्याएका थिए । त्यसपछि दक्षिण अफ्रिकाले खुलेर खेल्न सकेन । स्टार्कले ३ र हेजलउडले २ विकेट लिए । त्यसै प्रदर्शन मदतमा अस्ट्रेलियाको जित आधार तयार भएको थियो ।

सन् २००२ को विश्वकप फाइनलमा अस्ट्रेलियाले भारतलाई जोहानसबर्गमा १ सय २५ रनले हराएको थियो । आइतबारको फाइनल भने दुई टिमबीच विश्वकपमा आठौं खेल हुनेछ । हेजलउड भन्छन्, ‘हामीले भारतविरुद्ध धेरैपल्ट खेलेका छौं, त्यसैले यो टिमबारे हामीलाई सबथोक थाहा छ । यो तथ्य हामीविरुद्ध पनि लागू हुन्छ । भारत निकै बलियो टिम हो । यो प्रतियोगितामा भारतले लगातार राम्रो खेलिरहेको छ । भारतीय टिममा खासै कमजोरी नै छैन, त्यसैले हामी अब्बल दर्जाको फाइनलको प्रतीक्षामा छौं ।’

सेमिफाइनलमा भारतले न्युजिल्यान्डविरुद्ध आक्रामक सुरुआत लिएको थियो । रोहितले ४७ र शुभमन गिलले ८० रन बनाए । त्यसमै टिकेर भारतले ४ विकेटमा ३ सय ९७ रन स्कोर खडा गरेको थियो । हेजलउड भारतलाई त्यस्तै सुरुआतबाट रोक्नुपर्ने मान्छन् । लिग चरणमा २ सय रनको लक्ष्य पछ्याउने क्रममा भारतले २ रनमात्र बनाउँदा ३ विकेट गुमाएको थियो । उनी भन्छन्, ‘विश्वास गरौं, हामीले त्यसरी नै भारतलाई रोक्न सकौं ।’