अमेरिकामा करातेकी एरिकालाई ९ लाख रुपैयाँको सम्मान

8 Apr, 2024

१९औं एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख बढी नगदसहित सम्मानित भएकी छिन्।

११औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब यूएसएको आयोजनामा एरिकालाई ७ हजार ११ अमेरिकी डलर र प्रमाणपत्र सहित सम्मान गरिएको हो।

यूएसए ओपन कराते च्याम्पियनसिपमा भाग लिनका‌ लागि अमेरिका पुगेकी एरिकालाई‌ सम्मान गरिएको हो ।

यूएसए ओपनमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा रजत पदक जितेकी थिइन्।

गत असोजमा चीनमा भएको १९औं एसियाडमा एरिकाले रजत पदक जितेकी थिइन्। एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन् ।

न्युयोर्कमा स्थापना भएको भएको च्याम्पिनसिप मार्सल आर्ट्समा नेपाली समुदायका बालबालिका लागि हरेक आइतबार निःशुल्क ताईची र छि गुंग कक्षा सञ्चालन गर्ने लामाले घोषणा गरेका छन्। च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौंको‌ बालाजुमा ४ वर्ष अघिबाट सन्चालनमा छ।