पलेशालाई बागमती सरकारले १० लाखसहित सम्मान गर्ने

19 Sep, 2024

पारा ओलम्किपकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई बागमती प्रदेश सरकारले सम्मान गर्ने भएको छ। ऐतिहासिक पदक विजेता पलेशालाई बागमती सरकारले नगद १० लाख रुपैयाँसहित सम्मान गर्ने भएको हो।

पलेशालाई बागमती सरकारले संविधान दिवसका अवसरमा आजै सम्मान गर्ने छ। पलेसाले पेरिस पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । उनले तेक्वान्दोको के–४४ क्याटेगोरीको महिला ५७ केजीमुनि तौल समूहमा सर्बियाकी मरिजा मिकेभलाई १५–८ अंकले हराउँदै नेपाललाई पदक दिलाएकी थिइन्।

सम्मान गर्नुअघि पलेशालाई हेटौँडा बजार परिक्रमा गराइने बताइएको छ। छ ।

यस्तै, प्रदेश सरकारले पलेसासँगै १९औँ एसियाली खेलकुदमा कराँतेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउने एरिका श्रेष्ठलाई पनि सम्मानित गर्ने भएको छ । उनलाई नगद ५ लाखसहित सम्मान गरिने छ।

पलेसाका प्रशिक्षक कविराज नेगी र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई पनि नगदसहित सम्मान गर्ने जनाएको छ। पलेसाका प्रशिक्षक कविराज नेगी र तेक्वान्दो संघलाई समान तीन लाख नगदसहित पुरस्कृत गरिनेछ।