राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने १४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको उद्घाटनमा पारा तेक्वान्दोकी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्वलन गर्ने भएकी छिन्।
दशरथ रंगशालामा मंगलबार प्रतियोगिताको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन्। उद्घाटनअघि ओलम्पिक टर्चलाई ट्र्याकमा परिक्रमा गराइनेछ ।
टर्च परिक्रमा ओलम्पियन देबु थापा, कमलबहादुर अधिकारी र हरि रिमाल पनि सहभागी हुनेछन् । त्यसपछि पलेशाले ओलम्पिक दीप प्रज्वलन गर्ने कार्यक्रमको संयोजन दीपक विष्टले जनाएका छन्।
चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटेगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसकेकी थिइन्।
पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन्।
उनले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य जितेकी थिइन् । टोकियो पारा ओलम्पिक २०२० मा पनि पलेशाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।
तीन दिनसम्म चल्ने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ।